काठमाडौं, ९ बैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज सोमबार सन्दिप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजे सवाइ मानसिंह स्टेडियम जयपुरमा हुनेछ ।

आइपीएलको चालू सिजनमा दुई टिम पहिलोपटक भिड्न लागेका हुन् । राजस्थानको घरेलु मैदान जयपुरमा पछिल्लो ७ वर्षयता दिल्लीले राजस्थानलाई जित्न सकेको छैन । यो मैदानमा दुई टिमबीच अहिलेसम्म भएका पाँचमध्ये ४ खेल राजस्थानले जित्दा एक खेल मात्रै दिल्लीले जितेको छ ।

चालू सिजनमा अहिलेसम्म १० खेलबाट १२ अंक जोडेको दिल्ली अंकतालिकाको तेस्रो स्थानमा छ । ९ खेलबाट ६ अंक जोडेको राजस्थान पुच्छारबाट दोस्रो स्थानमा छ । दिल्लीलाई प्लेअफमा पुग्न बाँकी चारमध्ये कम्तीमा दुई खेल जिते पुग्छ । राजस्थानलाई भने बाँकी पाँचमध्ये एक खेल मात्रै हारे पनि प्लेअफ पुग्न कठिन हुनेछ ।

किँग्स इलाभेन पञ्जावविरुद्ध तीन विकेट लिएका नेपाली बलर सन्दिपलाई दिल्लीले आज पनि खेलाउने संभावना बलियो छ । दिल्लीले १० खेल खेलिसक्दा पाँच खेलमा टिममा परेका सन्दिपले चालू सिजनमा ८ विकेट लिएका छन् ।