काठमाडौं, ७ बैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई १ सय ६२ रनको चुनौती दिएको छ ।

जयपुरमा टस हारेर पहिला ब्याटिङमा तानिएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गमुाउँदै १ सय ६१ रन बनाएको हो । उसका लागि क्विन्टन डिककले ६५, सूर्यकुमार यादवले ३४, हार्दिक पाण्ड्याले २३, किरोन पोलार्डले १० रन बनाए भने कप्तान रोहित शर्मा ५ रनमा आउट भए । बेन कटिङ १३ र क्रुनाल पाण्ड्या २ रनमा अविजित रहे ।

राजस्थानले जवाफी ब्याटिङ सुरु गरेको छ । प्रतियोगितामा ८ खेल खेलिसक्दा ४ अंक मात्रै जोडेको राजस्थान अंकतालिकाको पुच्छारबाट दोस्रो स्थानमा छ । राजस्थानलाई प्लेअफमा स्थान सुरक्षित गर्न आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।

९ खेलबाट १२ अंक जोडेको मुम्बई भने अंकतालिकाको दोस्रो स्थानमा छ । आजको खेल जिते मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिनेछ ।