काठमाडौं, ७ बैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किँग्स इलाभेन पञ्जावले दिल्ली क्यापिटल्सका लागि जितका लागि १ सय ६४ रनको चुनौति दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । पञ्जावका लागि क्रिस गेलले सर्वाधिक ६९ रन बनाए । ३७ बलमा ५ छक्का र ६ चौका हानेका गेल नेपाली लेग स्पिनर सन्दिप लामिछानेको शिकार बने । मन्दिप सिंहले ३०, रबिचन्द्रन आश्विन २०, केएल राहुलले १२ रन बनाए भने हरप्रित ब्रार २० रनमा नटआउट रहे ।

लगातार ३ खेल बेञ्चमै बसेर मैदान फर्किएका सन्दिपले दिल्लीका लागि ३ विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३ विकेटका लागि ४० रन खर्चिए । उनले गेलसँगै के एल राहुल र साम कुरानलाई आउट गरेका हुन् । अक्षर पटेल र कागिसो रबाडाले समान २÷२ विकेट खसाले ।