२७ भदौ, काठमाडौ ।

आचार संहिता विपरित मन्त्री परिषद् विस्तार गरेपछि निर्वाचन आयोगले सरकारलाई थप निर्देशन दिएको छ ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहको सयोजकत्वमा गठित निर्वाचन आचार संहिता समितिको आज बसेको बैठकले मङ्सिर १० र २१ गते हुने प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि थप निर्देशन दिएको हो ।

राजनीतिक दलहरुको तर्फबाट हुने उम्मेदवार वा स्वतन्त्र उम्मेदवारहरुको प्रचार प्रसारको क्रममा टिसर्ट, झोला, स्टिकर, गम्छा, सल, खादाजस्ता जिन्सी सामग्रीहरुमा आफ्ना निर्वाचन चिह्नहरु अङ्कित गरी मतदातालाई वितरण नगर्न भनिएको छ ।

त्यसो गर्दा निर्वाचन स्वच्छ, निष्पक्ष, मर्यादित र मितव्ययी हुन नसक्ने हुँदा र उक्त कार्य निर्वाचन आचार संहिताको उलंघन हुने भएकाले उल्लिखित सामग्रीहरुको वितरणमा रोक लगाउन सम्बद्ध निकाय तथा तोकिएको अधिकारीलाई निर्देशन दिएको छ ।

स्थानीय तह निर्वाचन सम्पन्न भएपछि गठन भएका स्थानीय तहका गाउँसभा÷नगरसभा÷ जिल्लासभालाई नीति, बजेट तथा कार्यक्रम गर्न दिने तर त्यस्का कार्यक्रममा मन्त्री, सांसदलाई उदघाटन गर्न गराउन रोक लगाइएको छ ।

आचारसंहिता लागू हुनुपूर्व सरुवा भएका कर्मचारीलाई यथाशीघ्र आफ्नो दरबन्दीमा जान रमाना दिने तथा काज रहेको भए दरबन्दीमा काज फिर्ता गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

मन्त्री तथा सार्वजनिक पद धारण गरेका पदाधिकारीहरूको निर्वाचनको सन्दर्भमा राजनीतिक कार्यक्रममा भाग लिन जाँदा सरकारी साधन र स्रोतको प्रयोग नगर्न/नगराउन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।