१० साउन, काठमाण्डौं ।

२० दिन यता बन्द रहेका देशभरका म्यानपावर कम्पनीहरु आजदेखि खुल्ने भएका छन् । श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी संघबीच गएराती अबेरसम्म चलेको वार्तामा ३१ बुँदे सहमती भएपछि बन्द रहेका म्यानपावर कार्यालय आजदेखि खुल्न लागेका ह्न् ।

गत असार २१ गतेदेखि मलेसिया र खाडीका छ मुलुकमा निःशुल्क हवाई टिकट र प्रवेशाज्ञा व्यवस्था गरेपछि आफ्ना कार्यालय नै बन्द गरी व्यबसायी आन्दोलनमा उत्रिएका थिए ।

waiting-in-airport-to-go-overseas

श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा व्यवसायी र मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरी कार्यदलले दुई महिनाभित्र प्रतिवेदन तयार पारी त्यसले दिएका सुझावका आधारमा निःशुल्क हवाई टिकट र प्रवेशाज्ञा विषय टुङ्ग्याउने लगायतका ३१ बुँदामा सहमति भएको वार्तामा सहभागी संघका महासचिव रोहन गुरुङले जानकारी दिए ।

कार्यदलको प्रतिवेदन नआउँदासम्म मन्त्रालयले गरेको निःशुल्कको निर्णय यथावत रहने र प्रतिवेदन आएपछि आवश्यकतानुसार परिमार्जन गर्न सकिने सहमति दुबै पक्षबीच भएको छ ।

कार्यदलका प्रतिनिधि कामदार जाने गन्तव्य मुलुकमा समेत गएर अध्ययन गर्ने सहमतिमा उल्लेख छ । व्यवसायीले निःशुल्कको निर्णय स्थगन गर्नुपर्ने, कार्यालयमा अनावश्यक छापा मार्न नहुने, भिएलएन नेपालमार्फत मलेसियाको प्रवेशाज्ञा प्रक्रिया बन्द गर्नुपर्ने, स्वास्थ्य परीक्षणमा बायोमेट्रिक प्रणाली लागू गर्न नहुनेलगायत माग राखी आन्दोलनमा उत्रिएका थिए ।

यसअघि, हिजो मन्त्रालयले तीन दिनभित्र म्यानपावर नखोले कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेपछि व्यवसायीहरु झुक्न बाध्य भएका हुन् ।

यो २० दिनको अवधिमा बैदेशिक रोजगारीमा जाने तयारीमा रहेको कामदारको टिकेट र भिषा रद्ध गर्नुपर्दा ३ करोड जति घाटा परेको संघले जनाएको छ ।