१२ चैत, काठमाडौं । आज एक युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचाररत एक युवकको केन्द्रीय प्रयोगशाला टेकुमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उनी चैत ५ गते खाडी मुलुकबाट नेपाल आएका हुन् । कोरोनाको लक्षण देखिएपछि उनी गत चैत १० गते टेकु अस्पताल परीक्षणका लागि पुगेका थिए ।

त्यसको रिपोर्ट आज आएपछि उनमा कोरोना पोजेटिभ देखिएको हो । ३२ वर्षीय ती युवा धादिङका स्थायी बासिन्दा भएको स्रोतले बताएको छ । तर उनी विदेशबाट फर्किएपछि धादिङ पुगेका थिए कि थिएनन् भन्नेचाहिँ खुलेको छैन । उनको अरु विवरण सार्वजनिक गरिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसअघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । दुवै जनाको अहिले टेकुस्थित सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।