३० साउन, काठमाडौं । आज जनैपूर्णिमा अर्थात् ऋषितर्पणी पर्व । सनातन संस्कृतिका तागाधारीले विधिपूर्व नयाँ जनै लगाउनुका सार्थै हातमा रक्षाबन्धन गरी जनैपूर्णिमा पर्व मनाइँदैछन् । जनैपूर्णिमाका अवसरमा देशका विभिन्न तीर्थमा स्नान गर्नेहरुको घुइँचो लागेको छ ।

श्रावण शुक्ल पूर्णिमा तिथिमा वैदिक विधिपूर्वक अभिमन्त्रण गरिएको नवीन यज्ञोपवीत ब्रह्मसूत्र वा जनै धारण गरिने हुँदा पूर्णिमालाई जनैपूर्णिमा भन्ने गरिन्छ । धार्मिक तथा पितृकार्य गर्नका लागि नभइनहुने जनै वैदिक विधिपूर्वक मन्तरेर धारण गर्ने परम्परा छ ।

जनैपूर्णिमाको दिन बिहानै जलाशयमा गइ जौ, कुश तील दतीवन, गोबर भष्म, माटो जस्ता प्राकृतिक पवित्र वस्तुको प्रयोग गरी स्नान गरेर सप्तर्षिसहित ऋषिमहर्षिलाई तर्पण दिइन्छ । ऋषिहरुले नै जनैका सूत्रको साँस्कृतिक तथा आध्यात्मिक महत्व र अर्थबोध गराई व्रतबन्धपछि यसको धारण गर्नुपर्ने संस्कार बसालेका हुन् ।

जनैपूर्णिमाका दिन उनीहरुप्रति श्रद्धापूर्वक तर्पण गरिने हुँदा यसलाई ऋषितर्पणी पर्व भन्ने गरिन्छ । यसै दिन सम्भावित विघ्नबाधाबाट सुरक्षित हुने विश्वासका साथ विधिपूर्व मन्त्रिएको रुक्षासूत्र वा रक्षाबन्धन धारण गरिन्छ । तराईक्षेत्रमा जनैपूर्णिमाको दिन बहिनीको हातबाट राखी बाध्ने चलन छ । जनैपूर्णिमाको दिन विभिन्न नौ थरीका गेडागुडी भिजाई टुसाएपछि पकाएर तयार पारिने विशेष परिकार क्वाँटी खाने चलन छ ।

जनैपूर्णिमाका अवसरमा आज देशका विभिन्न महादेव मन्दिर,कुण्ड तथा तीर्थस्थलमा मेला लाग्छ । काठमाडौको पशुपतिनाथ मन्दिर, ललितपुरको कुम्भेश्वर महादेव मन्दिरमा आज स्नान गरी जनै लगाउने र रक्षाबन्धन गर्नेको भीड लागेको छ । यसैगरी रसुवाको गोसाइँकुण्डमा पनि स्नान,ध्यान, साधना गर्ने भक्तजनको घुइँचो लागेको छ ।

गोसाइँकुण्डको जल भित्रभित्रै बगेर ललितपुरको कुम्भेश्वरस्थित कुण्डमा निस्केको विश्वासमा भक्तजनले विशेष स्नान गर्दछन् । जनै पूर्णिमाका बेला गोसाइँकुण्ड, लमजुङको दुधपोखरी, पाँचपोखरी शैलुङ लगायतका क्षेत्रमा तान्त्रिक विद्याको साधना र सिद्धिका लागि लामा तथा झाक्रीहरुले विधिपूर्वक पूजाआजा र परिक्रमा गर्दछन् ।

यसैगरी जनकपुरको गंगासागर धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, लमजुङको दूधपोखरी, जुम्लाको दानसाँघु, खप्तडक्षेत्रको त्रिवेणी तथा बडीमालिका लगायतका धार्मिकस्थलमा जनैपूर्णिमाको अवसरमा बिशेष मेला लागेको छ ।

आजै विश्व संस्कृत दिवस समेत मनाइन्छ । विश्वमा ज्ञान, विज्ञान र दर्शनको संग्रह गरिएको संस्कृत भाषा सबै भन्दा पुरानो विकसित मानिन्छ ।