२ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा अध्ययन गर्न गठित कार्यदलको बैठक शुक्रबार पनि बसेको छ ।

बैठकले एमसीसीको विषयमा प्राप्त भएका सामग्रीहरुमाथि छलफल गरेको छ । कार्यदलका सदस्य भीमबहादुर रावलले अहिलेसम्म प्राप्त सामग्रीहरुमाथि अध्ययन गरी समितिका सदस्यहरुबीच छलफल भएको बताए । उनले समितिले तथ्यको आधारमा छलफल गरेको र छलफलका विषयहरु अभिलेख गर्ने निर्णय भएको बताए ।

रावलेल एमसीसीका विषयमा प्राप्त सामग्रीहरुमाथि अझै अध्ययन गरी अभिलेख गर्दै जाने निर्णय पनि गरिएको बताए । कार्यदलको बैठक छिट्टै बस्ने उनले बताए । नेकपाभित्रै एमसीसीका विषयमा तिव्र आलोचना भएपछि नेकपा केन्द्रीय समितिको बैठकले एमसीसीका विषयमा अध्ययन समिति गठनको मागको गरेको थियो । केन्द्रीय सदस्यहरुको माग अनुसार गठन भएको समितिले १० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन भनिएपनि समितिले भने अझै समयको माग गरेको छ ।