काठमाडौं । संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको आग्रह एवं आणविक शस्त्रको विरोध हुँदाहुँदै उत्तर कोरियाले बुधबार एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि पुनःएकपटक विश्वमा यसको चर्चा चलेको छ ।

विगतदेखि नै आणविक परीक्षणलाई मानौँ कि आफ्नो एक प्रमुख काम जस्तोगरी निरन्तरता दिएको उत्तर कोरियाले विश्व समुदायको आग्रह र निन्दाको पनि वास्ता गरेको जस्तो देखिँदैन । मात्र उ आफ्नो यस्तो काममा व्यस्त छ कि यस्ता परीक्षण पहिलेको तुलनामा यो कति शक्तिशाली छ र यसबाट अमेरिका वा अर्काे कुनै देशको कहाँसम्म हान्न पुग्छ । गएको करिब साढे दुई महिनासम्म लगभग शान्त जस्तो देखिएको उत्तर कोरियाले बुधबार बिहानदेखि क्षेप्यास्त्रको होडलाई पुनःविवादमा ल्याइदिएको छ । यसबाट विश्वमा नै चिन्ता र चासो दुवै थपिएको छ ।

तेत्तीस वर्षीय उत्तर कोरियाली शासक किम जोङ उनले एकपछि अर्काेगरी जारी राखेको आणविक अश्त्रको भित्री ध्येय अमेरिकालाई धम्की दिनु बढी हो । पछिल्लो पटक परीक्षण गरेको हाइड्रोजन मिश्रित परीक्षणले विश्वमा उत्तेजना बढाउनेमात्र काम गरेको थियो । गएको बुधबारको यो परीक्षणले भने चिन्ता थपिदिएको छ । किनभने यसलाई अहिलेसम्मकै शक्तिशाली भनिएको छ । अर्काेतर्फ उत्तर कोरिया आफैँले पनि अमेरिकाको जुनसुकै भूभागमा पनि सजिलै पुग्नसक्ने र शक्तिशालीरुपमा मार हान्न सक्ने परीक्षण भनेको छ ।

अमेरिकाले उसको गठवन्धन प्रयोग गरी आफ्ना विरुद्धमा गर्नसक्ने कारबाहीका लागि पनि आपूm रक्षात्मक अवस्थामा छु भनेर उत्तरले यो पछिल्लो परीक्षणबाट प्रमाणित गर्न पनि खोजेको देखिएको छ । हुनत यसअघिको हाइड्रोजन मिश्रित परीक्षण पनि यसैको उपजका रुपमा धेरैले अड्कल गरेका थिए । र अहिले पनि उ आफैँले आफू अब आणविक शक्ति सम्पन्न राष्ट्र भएको घोषणा सगर्व गरेको छ । बुधबारको परीक्षण पछि उत्तर कोरियाली नेता किमले भनेका छन्, हामी अब आणविक शक्ति सम्पन्न राष्ट्र भएका छौँ, हामी अब पूर्णरुपमा रक्षात्मक अवस्थामा रहन सक्ने भएका छौँ ।

करिब साढे दुई महिनाअघिको उक्त शक्तिशाली परीक्षणले अमेरिकासँगको मोलमोलाई (ब्ल्याक मेलिङ) मात्र नभएर विश्वका नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनफिङले आपूmलाई उत्तिकै ब्यवहार गरुन, वार्तामा बोलाउन र आफूले कुनै शर्त राखेर यो अश्त्रको होडलाई गाह्रोगरी स्थगित गर्ने बचन दिनसकुँ भन्ने भित्री ध्येय उत्तर कोरियाली नेता किमको रहेको बिश्लेषण गरेका थिए ।

दक्षिण र उत्तर कोरिया सन् १९५३ को युद्धपछि टुक्रिएका हुन् । त्यसयताको उनीहरुबीच सम्वादभन्दा सत्रुता बढ्दो छ । जसलेगर्दा दक्षिण कोरिया उत्तर भन्दा बढी अमेरिकासँग नजिक छ । एकीकरणको आवाज बेला बेलामा आउछ तर निकै मधुरो छ । त्यो पनि उत्तरका शर्तले गर्दा दक्षिणको आवाजै दबिने गर्छ । जुन उत्तरलाई मन परेको छैन । अब आवाजले भन्दा पनि हतियारले चर्काे बोल्ने प्रयत्न उसको हुनसक्छ ।

अहिलेसम्मका सबै परीक्षणमध्ये पछिल्लो क्षेप्यास्त्र सबैभन्दा शक्तिशाली रहेको विश्लेषकले बताएका छन् । उत्तर कोरियाले गरेको दाबीअनुसार यो अमेरिकी महादेशसम्म नै मार हान्नसक्ने शक्तिको रहेको छ । उक्त क्षेप्यास्त्र पाँच हजार ४७५ मिटरको उचाइसम्म पुगेको थियो । यो क्षेप्यास्त्र करिब ५३ मिनेटमा ९५० किलोमिटर टाढासम्म पुगेको थियो । यो क्षेप्यास्त्र यसअघि जस्तो जापानी भू–भागको माथिबाट भने नगएको बताइएको छ । तर यो जापानी समुद्रमा खसेको थियो । यसअघि उसले हानेको क्षेप्यास्त्र भने जापानको आकासबाटै उडेको र समुद्रमा खसेको थियो ।

यो पछिल्लो भने संयुक्त राज्य अमेरिकाको भूमिसम्म नै भेट्नेगरी लामो दूरीसम्म मार हान्ने क्षमताको भएको जनाएका छन् । उसले यसैबर्षको जुलाई महिनामा पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र हानेको थियो । उत्तर कोरियाको आणविक कार्यक्रमबारे विश्वव्यापीरुपमा नै तनाव बढिरहँदा करिब साढे दुई वर्षपछि फेरी यो अर्काे क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले तनाव झन थपिदिएको छ ।

सो परीक्षणस्थलको निरीक्षणपछि उत्तर कोरियाली नेता किमले भनेका छन्– आजको परीक्षण निकै शक्तिशाली छ, यसले अमेरिकाको सबै भू–भागसम्म हान्न सक्छ, त्यसैले म आज गर्वका साथ यो भन्न सक्छु कि हामी अब भने आणविक शक्तिराष्ट्र भएका छौँ । यसले हाम्रो देशलाई अमेरिकाको जस्तोसुकै आक्रमणका विरुद्धमा पनि बचाउन सक्नेछ ।

आखिर उत्तर कोरिया के चाहन्छ त ? किन यसरी विश्व समुदायको आग्रह र निन्दाकाबीच पनि यस्तो परीक्षण गर्ने गरेको छ ? विश्लेषकहरु भन्छन्— उत्तर कोरिया विश्व समुदायमा बलियो उपस्थिति चाहन्छ । यस्तो उपस्थितिको स्थान उसले अरु हिसाबले बनाउन नसकेपनि हतियारको सहारा लिएको हो । तर हतियारकै भाषा भए पनि अन्तर्राष्ट्रिय समुदायले बुझिदिनुपर्ने तर्क धेरैको छ । हतियारले नै सम्वाद गरिदिँदा यसले अर्काे युद्धको खतरा जन्माउन सक्ने उनीहरुको तर्क छ । त्यसैले उनीहरु यसको समाधानका लागि कूटनीतिक संवाद आवश्यक ठान्दछन् । उसको यो हतियारको उपस्थितिलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा सोच्न विश्वका शक्ति राष्ट्रहरुको दिमागमा यतिखेर चिन्ता पनि थपिएको छ । कतिपय त भन्छन् कि— यसैमा पनि उत्तरले आफ्नो जित देखेको हुनसक्छ ।

त्यसो त उत्तरको पछिल्लो परीक्षणपछि संसारको कुनै पनि देश उसको पक्षमा छैन, देखिँदैन । यो हतियारको दम्भ नै हो र यसलाई कुनै न कुनै रुपले कानुनी दायरामा ल्याउनुुपर्ने संसारले भनेको छ । तर ती सबै भनाईहरु यसअघिका परीक्षणहरुजस्तै परम्परागत रुपमा मात्र आएका छन् । उही नाकाबन्दी, उही संयुक्त राष्ट्रसंघको निन्दा र तिनै छिमेकीको आक्रोस । तर यतिले मात्र अबको समस्या समाधान गर्न नसक्ने धेरैको सर्वेक्षण छ । त्यसैले सश्त्रास्त्रको होड रोक्न नै विश्व एकहुनु जरुरी छ ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको र एकपछि अर्काे शक्तिशाली क्षेप्यास्त्र हान्ने गरेको यस घटनाले विश्वमा नै हतियारको होडबाजी बढ्ने र यसले नागरिकको शान्तिको चाहनामा गम्भीर असर पार्ने चिन्ता विश्वब्यापीरुपमा बढाउने चिन्ता व्यक्त गरिएको छ । केही समयमात्र अघि पनि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा बोल्दै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाको परमाणु कार्यक्रमविरुद्ध कदम चाल्न नसक्ने हो भने त्यसले घातक परिणाम ल्याउने चेतावनीसमेत दिनुभएको थियो ।

एकतर्फ अमेरिकाले उत्तर कोरियाको यस्तो आणविक महत्वाकांक्षालाई निस्तेज पार्नका लागि चीनले नै प्रभावकारी भूमिका निर्वाह गरोस् भन्ने चाहन्छ भने तर चीनले भने यस विषयमा कुनै कडा प्रतिक्रिया दिने गरेको छैन । चीनले उत्तर कोरियासँग शान्ति वार्तागरी यसैका माध्यमबाट यो आणविक कार्यक्रम नियन्त्रण गर्न सकियोस् भन्ने चाहेको छ । चीनले सदैव उत्तर कोरियासँग वार्तागरी समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

यसरी आणविक परीक्षणको यो पछिल्लो होडबाजीले विश्वमा युद्धको भय झन् बढ्दै गएको टिप्पणी गर्न थालिएको छ । विश्लेषकले यस्तो अवस्थाको नियन्त्रण र निवारण गरी शान्तिपूर्ण विश्व निर्माणका लागि सबैको सकारात्मक पहल हुनुपर्नेमा जोड दिएका छन् । तर यो बढ्दो हतियार मोहलाई मत्थर पार्न विश्वका शक्ति राष्टहरुले नै ठोस काम नगरेर उही पहिलेकै जस्तो नाकाबन्दी, बिरोध, निन्दा वा धम्कीले मात्र अब काम गर्ने अवस्था देखिँदैन । यसको भरपर्दाे बिकल्प वार्ता नै हुनसक्छ । उत्तर कोरियासँग रुस वा चीनले गर्ने वार्ता अरुको तुलनामा बढी प्रभावकारी हुनसक्छ । त्यसैले उनीहरुले यो अवस्थामा मध्यस्थताका रुपमा शान्तिवार्ताको प्रक्रियालाई अघि सारेर अमेरिकासँग पनि सन्तुलन कायम गर्न सके भने यसले सबैलाई र संसारलाई पनि हित नै गर्नेछ । –एकराज पाठक/रासस