१६ असोज, काठमाडौं । तनहुँको भानु नगरपालिकाका विभिन्न ठाउँमा आतङ्क मच्चाउदै आएको नरभक्षी चितुवालाई समातिएको छ ।

बुधबार राती जंगलमा राखिएको बाख्रासहितको काठको खोरमा चितुवा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । उनका अनुसार चितुवालाई समात्नका लागि कार्यालयले जंगलमा फलामको पासो बनाएर बाख्रा राखेको थियो । जङ्गलमा स्थानीयले पनि काठको खोर बनाएर बाख्रासहित राखेका खोरमा चितुवा परेको हो ।

खाेरमा परेको चितुवालाई रुपन्देही स्थित शंकरनगरको प्राणी उद्यान पठाइएको छ । चितुवा नियन्त्रणमा आएपनि स्थानीयवासीलाई सचेत रहन सुझाव दिइएको बरालले बताए । करिव १० वर्षकोे भाले चितुवा नियन्त्रणमा आएपनि त्यस क्षेत्रमा अन्य चितुवा हुन सक्ने भएकाले स्थानीयवासीलाई सजग रहन आग्रह गरिएको छ । भानु नगरपालिकाको २, ३ र ४ नम्वर वडामा डेढ वर्षको अवधिमा चितुवाबाट चार बालबालिकाको ज्यान गइसकेको छ ।