१४ माघ, काठमाडौं । बर्दियामा आफैंले बोकेको बन्दुक पड्किँदा एक प्रहरी घाइते भएका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा गोली लागेर एकजना प्रहरी जवान घाइते भएका हुन् । जिल्लाको मधुवन ४ मौवास्थित नहर छेउबाट विप्लवका दुई कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा बन्दुक पड्किएको हो ।

घाइते प्रहरीको परिचय खुलाइएको छैन । घाइते प्रहरीलाई भेरी अस्पताल नेपालगञ्ज पठाइएको छ । टोलीले विप्लव समूहका जयबहादुर ठाडा मगर र रोहित सुनारलाई पक्राउ गरेको छ । दुईजना भागेका छन् । पक्राउ परेका विप्लवका कार्यकर्ताबाट प्रहरीले दुईवटा मोटरसाइकल, एउटा कटुवा पेस्तोल, तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।