२९ भदौ, काठमाडौं ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो सय दिन उपलब्धीपूर्ण भएको दाबी गरेको छ । सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकारका उपलब्धीहरु सार्वजनिक गर्दे सय दिन उपलव्धीमूलक भएको बताएका हुन् ।

सञ्चारमन्त्री बस्नेतले सरकारका उपलब्धीका रुपमा राष्ट्रपति र प्रधानमन्त्रीको भारत भ्रमण, उपप्रधानमन्त्रीको भारत र चीन भ्रमण भएको बताउनुभयो । यो भ्रमणले छिमेकी देशहरुसँगको सम्वन्ध सुदृढ बन्दै गएको सरकारको दाबी छ ।

सरकारले आफ्नो १०० दिनको उपलब्धीका रुपमा भूकम्प पीडितहरुसँग निजी आवास निर्माणका लागि भएको सम्झौता, किस्ता वितरणलाई प्रस्तुत गरेको छ ।

स्थानीय चुनाव भएको र अन्य चुनावहरु पनि सुनिश्चित भएको, आर्थिक सूचकांक सकारात्मक रहेको तथा सदाचार, सुशासन प्रवर्धन भइरहेको सरकारको दाबी छ ।

यस्तै कार्यक्रममा मन्त्रीहरुले भ्रष्टाचारमा मुछिएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का तथा साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मामाथि छिटै कारवाही हुने बताएका छन् ।

शिक्षामन्त्री गोपालमान श्रेष्ठले खड्का र शर्मालाई कारवाही गर्ने प्रतिबद्धता जनाएका हुन् । त्यस्तै उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारको पहिलो प्राथमिकता चुनाव भएको भन्दै त्यसका आधारमा सरकारको मूल्यांकन गर्न आग्रह गरे ।