निर्वाचन आयोगले राप्रपाको विधानबाट ‘संवैधानिक राजतन्त्र र हिन्दुराष्ट’ हटाएपछि राष्ट्रिय राजनीतिमा नयाँ तरङ ल्याएको छ । केही साता अघि मात्र राप्रपाबाट उपप्रधान सहित स्थानीय विकास र पर्यटन मन्त्री सरकारमा सहभागी भएका थिए ।

निर्वाचन आयोगले हिन्दुराष्ट्र र राजतन्त्र हटाएपछि राप्रपाले सरकारबाट बाहिरिनेसम्मको चेतावनी दिएको छ । यस विषयमा राप्रपाको प्रमुख सचेतक समेत रहेका पर्यटन मन्त्री दिलनाथ गिरीसँग नेपाली हेडलाइन्सका लागि प्रयास पराजुलीले गरेको कुराकानीः–

निर्वाचन आयोगले राजतन्त्र र हिन्दुराष्ट्र तपाईको विधानबाटै हटाइदियो अब के गर्नुहुन्छ ?

–यो निकै गम्भीर कुरा हो । निर्वाचन आयोगले गम्भीर त्रुटी गरेको छ । यो सच्याउनु पर्छ । बहुदलिय प्रतिस्पर्धामा राजनीतिक पार्टीका आ–आफ्ना विचार र सिद्धान्त हुन्छन् । प्रजातन्त्र भनेको प्रतिस्पर्धा हो । प्रजातन्त्रको सौन्दर्य मास्ने काम निर्वाचन आयोगले गरेको छ ।

निर्वाचन आयोगले संविधानमा गणतन्त्र र धर्मनिरपेक्षता भइसकेकाले राजतन्त्र र हिन्दुराष्ट्र हटाइएको हो भन्छन नि ?

–यस्तो पनि कहीं हुन्छ ? हरेक पार्टीले आफ्नो विचार सिद्धान्त लिएर हिड्न किन नपाउने ? पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा राप्रपाले हिन्दुराष्ट्र र राजतन्त्रलाई नै एजेण्डा बनाएर निर्वाचनमा सहभागी भएको हो ।

बहुदलिय व्यवस्थामा फरक विचारको पनि सम्मान गर्नुपर्छ । निर्वाचन आयोग देशी विदेशी ग्राण्डडिजानमा चलेको आभास हामीलाई भएको छ ।

अब तपाईहरु चुनावमा भाग लिनुहुन्छ कि हुन्न ?

–निर्वाचन नहुने परिस्थितिमा निर्वाचन गराउनको लागि हामी सरकारमा सहभागी भएका हौं । निर्वाचन आयोगले आफूले गरेको गल्ती नसच्याएसम्म हामी निर्वाचनमा भाग लिदैनौ । हामीलाई सरकार प्यारो छैन् ।

हामीलाई हाम्रो एजेण्डा प्यारो छ । जनताको चाहना र भावना विपरीत जान सकिदैन । निर्वाचन आयोगले त्रुटी नसच्याए हामी अदालतको ढोका ढकढक्याउँछौं ।

कसको कारण निर्वाचन आयोगले यस्तो निर्णय गर्यो होला त ?

–निर्वाचन आयोगका पदाधिकारी तीन दलबाट सिफारिस भएका हुन् । यदि निर्वाचन नहुने परिस्थिति बन्यो भने प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष के पी ओली निर्वाचनप्रति जिम्मेवार छैनन भन्ने स्पष्ट हुन्छ ।

यो पनि पढ्नुस्:

प्रचण्ड रिमोटकन्ट्रोलबाट चले, सरकारमा नरहन सक्छौः दिलनाथ गिरी
विवादित विषयमा जनमतसंग्रहमा जाँदा नै उत्तम हुन्छ- दिलनाथ गिरी