२३ बैशाख, काठमाडौ ।
विश्व किर्तिमान बनाउन सर्वोच्च शिखर सगरमाथा आरोहणमा हिडेका आरोही मीन बहादुर शेरचनको निधन भएको छ । सबभन्दा बढी उमेरमा सगरमाथा आरोहणको किर्तिमानी बनाउन आरोहणमा हिडेका ८६ बर्षीय शेरचनको शनीबार निधन भएको हो ।

म्याग्दीको भुरुवा तातोपानी निवासी शेरचन काठमाडौंको समिट ट्रेड नेपाल नामक ट्रेकिङ एजेन्सीबाट दोस्रो पटक वैशाख ३ गते आइतबार सात सदस्यीय टोलीसहित काठमाडौंबाट हेलिकोप्टरमा नाम्चे बजार हुँदै सगरमाथा आरोहणमा गएका थिए ।

सबभन्दा बुढो उमेरमा विश्व किर्तिमान बनाउन शेरचनको आरोहणका लागि मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान समेत चलाइएको थियो ।

वि.स २०६५ जेठ १२ मा ७८ वर्षको उमेरमा सबभन्दा बढी उमेरका नागरिकका तर्फबाट पहिलोपटक शिखर चुम्न सफल भई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भए पनि पछि ८० वर्षीय जापानी नागरिक युचिरो मिउराले सो रेकर्ड तोडेपछि अहिले पुनः रेकर्ड कायम गर्न शेरचन सगरमाथा चढ्न लागेका थिए । शेरचन म्याग्दी भुरुङ तातोपानीमा जन्म हुर्केका हुन् ।