१२ माघ, काठमाडौं । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखेका अनुसन्धान गनै जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भएको र अब अन्य कानूनी प्रक्रिया सुरु हुने जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले जानकारी दिए । सोमबार बिहान मात्रै प्रहरीसमक्ष आत्मसमर्पण गरेकी राउतमाथि काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी रामकृपाल साहका अनुसार माघ १ गते राउत भद्रपुर जाने क्रम यो घटना भएको थियो । कानुनबमोजिम अधिकार प्राप्त सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा राउतले दुर्व्यवहार गरेको देखिएको साहले बताए । बुधबार राउत भद्रपुर जाने क्रममा मध्यान्ह विमानस्थलमा पुगेकी थिइन्। सो क्रममा उनी आन्तरिक टर्मिनलको एक्सरेमा छिर्दा रातो बत्ती बलेपछि सुरक्षामा खटिएकी प्रहरी जवानले ज्याकेट फुकाल्न लगाएकी थिइन् ।

मेटल डिटेक्टिभ एक्सरेले रातो देखाएपछि सुरक्षाकर्मीले पुनस् चेकजाँच गर्छिन् । यसक्रममा राउत झोक्किएर ज्याकेट फुकाल्दै एक्सरे मेसिनमा हालेकी थिइन् । सो बेला उनले हातमा लिइरहेको कफीको कप प्रहरी कर्मचारीले सुरक्षित गरिदिएकी हुन्छिन् । चेकजाँच सकिएपछि उनले त्यो फिर्ता गरिदिएकी थिइन्। तर, राउतले कप ठेल्छिन् । केहीबेरमा कपबाट कफी पोखिन्छ र राउतको ज्याकेट भिज्छ । यसक्रममा राउतले प्रहरी कर्मचारीप्रति आक्रोश पोख्छिन् र त्यहाँबाट निस्किन्छिन् ।