४ माघ, काठमाडौं । प्रहरी कर्मचारीलाई बुधबार दुर्व्यवहार गरेको प्रारम्भिक प्रतिवेदनका आधारमा गायिका आस्था राउतमाथि कारबाही हुने भएको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको प्रतिवेदनका आधारमा प्रहरीले राउतमाथि कारबाही गर्ने भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले राउत र प्रहरी जवान श्रेष्ठबीच भएको कुराकानीको भिडियो तथा त्यसबेला रेकर्ड भएको सिसिटिभी फुटेजसमेतको प्रतिवेदन संकलन गरेर महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा पठाएको छ । प्रतिवेदनमा जवान श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको उल्लेख गरेकी छन् ।

सो प्रतिवेदनको आधारमा राउतमाथि अभद्र व्यवहार गरेको कसूरमा कारबाही गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए । राउतले गल्ती गरेको भए कानुन बमोजिम कारबाही हुन्छ त्यसैगरी श्रेष्ठले ड्युटीका बखत गल्ती गरेको भए उनीमाथि पनि आचरण–व्यवहारमा कारबाही हुने पोखरेलले स्पस्ट पारे ।

भएको के थियो ?
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी रामकृपाल साहका अनुसार माघ १ गते राउत भद्रपुर जाने क्रम यो घटना भएको थियो । कानुनबमोजिम अधिकार प्राप्त सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा राउतले दुर्व्यवहार गरेको देखिएको साहले बताए । बुधबार राउत भद्रपुर जाने क्रममा मध्यान्ह विमानस्थलमा पुगेकी थिइन्। सो क्रममा उनी आन्तरिक टर्मिनलको एक्सरेमा छिर्दा रातो बत्ती बलेपछि सुरक्षामा खटिएकी प्रहरी जवानले ज्याकेट फुकाल्न लगाएकी थिइन् ।

मेटल डिटेक्टिभ एक्सरेले रातो देखाएपछि सुरक्षाकर्मीले पुनस् चेकजाँच गर्छिन् । यसक्रममा राउत झोक्किएर ज्याकेट फुकाल्दै एक्सरे मेसिनमा हालेकी थिइन् । सो बेला उनले हातमा लिइरहेको कफीको कप प्रहरी कर्मचारीले सुरक्षित गरिदिएकी हुन्छिन् । चेकजाँच सकिएपछि उनले त्यो फिर्ता गरिदिएकी थिइन्। तर, राउतले कप ठेल्छिन् । केहीबेरमा कपबाट कफी पोखिन्छ र राउतको ज्याकेट भिज्छ । यसक्रममा राउतले प्रहरी कर्मचारीप्रति आक्रोश पोख्छिन् र त्यहाँबाट निस्किन्छिन् ।

अब के हुन्छ ?
यदि प्रहरीले मुद्दा चलाएर आस्था राउत दोषी भएको अदालतले ठहर गरेमा ५ महिना देखि १ वर्षसम्म कैद र पाँचसयदेखि १ लाख रुपैयाँ नगद जरिवाना हुन्छ । यस्तै, हवाई क्षेत्रमा खटिएका राष्टसेवक, प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेको पाइएमा नेपालमा गैर सैनिक हवाई उड्डयन औसिभिल एभिएसन ऐन २०१५ओ ले काम गर्छ । यो ऐनको दफा ९ क को ६ बमोजिम आस्था राउतलाई कारवाही गर्न सकिन्छ । यस्तो अपराध गर्नेलाई पाँच वर्ष देखि १० वर्षसम्म कैद हुन्छ ।