१३ मंसिर, काएरो । इजिप्टको उत्तरपूर्वी इश्मालिया तथा सिनाई प्रान्तमा केही दिन पहिले एक मस्जिदमा भएको आतङ्ककारी आक्रमण पछि सरकारी प्रहरी र सेनाले गरेको सुरक्षा कारबाहीमा १४ जना विद्रोहीको मृत्यु भएको छ भने १४ जनालाई सुरक्षा नियन्त्रणमा लिइएको सेनाले मङ्गलबार जारी एक वक्तव्यमा जनाइएको छ ।

गत शुक्रबार उत्तरी सिनाइ राज्यको एक गाउँमा ३०५ जनाको ज्यान जाने गरी विस्फोट गराएपछि सञ्चालन गरिएको सुरक्षा कारबाहीमा आतङ्ककारीले आश्रयस्थल बनाई बसेको क्षेत्रबाट ठूलो पैमानामा हतियार, विष्फोटक पदार्थ तथा बन्दोबस्तीका सामग्रीलाई नियन्त्रणमा लिइएको बताइएको छ । उक्त आक्रमणमा १२८ जना घाइते भएका थिए ।

गृह मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सिनाइ तथा इश्मालिया राज्यमा गरिएको खानतलासीमा ११ जना सशस्त्र विद्रोहीको मृत्यु भएको छ । त्यसैगरी देशका अन्य भागमा अन्य तीन जनाको मृत्यु भएको छ । उक्त अभियानमा १४ जना विद्रोहीलाई सुरक्षा नियन्त्रणमा लिइएको छ ।”

विद्रोहीले राज्य विरुद्ध आक्रामक हिंसाको तयारी गरेको उक्त आश्रयस्थललाई सेनाले ध्वस्त पारिदिएको दावी गरेको छ । शुक्रबारको आक्रमणको कुनै पनि समूहले जिम्मा नलिएपनि सरकारले इश्लामिक स्टेटसँग निकट सिनाइस्थित क्षेत्रीय आतङ्कवादी समूह नै घटनाको योजनाकार रहेको बताउदै आएको छ । रासस÷सिन्ह्वा