८ चैत, काठमाडौं । कोरोनाभाइरसको संक्रमणका कारण इटालीमा एकै दिन ६४७ जनाको मृत्यु भएको इटालीका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यो सहित इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ ।

एक महिनाअघि भाइरसको संक्रमण देखिएयता इटालीमा भयावह अवस्था सिर्जना भएको छ । चीनपछि सबैभन्दा बढी व्यक्तिको इटालीमा मृत्यु भएको छ भने संक्रमित व्यक्तिको संख्या पनि चीनपछि इटालीमै देखिएको छ । चीनमा करिब ३ हजार २५५ जनाको मृत्यु भएको थियो ।

इटालीको नागरिक सुरक्षा निकायका अनुसार इटालीमा कूल संक्रमितको संख्या ४७ हजार २१ पुगेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार यो संख्या करिब १४.६ प्रतिशतले वृद्धि भएको हो ।

इटालीको राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (आइएसएस) का अनुसार मृत्यु भएका व्यक्तिहरुको औसत उमेर ७८.५ वर्ष रहेको छ । मृत्यु भएकामध्ये सबैभन्दा कम उमेरका व्यक्ति ३१ वर्षका थिए भने सबैभन्दा बढी उमेरका व्यक्ति १०३ वर्षका थिए । त्यस्तै मृत्यु भएकामध्ये ४१ प्रतिशत ८० देखि ८९ वर्षका तथा ३५ प्रतिशत व्यक्ति ७० देखि ७९ वर्ष उमेरका थिए ।

इटालीमा जापानपछि विश्वमै सबैभन्दा बढी बुढ्यौली उमेरका व्यक्ति रहेका छन् । मुलुकको कूल जनसंख्याको करिब २३ प्रतिशतको उमेर ६५ वर्षभन्दा माथि छ । चिकित्सा विज्ञहरुको भनाईमा विश्वका अन्य भागको तुलनामा यहाँ मृत्युदर बढी किन भइरहेको छ भन्ने यही तथ्याँकले नै पुष्टी गर्दछ ।

मृत्यु भएका ३ हजार २०० व्यक्तिको सर्वेक्षणका आधारमा तयार पारिएको आइएसएसको प्रतिवेदनमा मृतकमध्ये ७०.६ प्रतिशत पुरुष र २९.४ प्रतिशत महिला रहेको उल्लेख छ । तुलनात्मक रुपमा कोरोना संक्रमित व्यक्तिको औसत उमेर ६३ वर्ष रहेको छ ।

अध्ययनमा समेटिएका ४८१ जना मृतक व्यक्तिको गहिरो विश्लेषण गर्दा झण्डै ९९ प्रतिशतमा एक वा त्योभन्दा बढी किसिमका रोगबाट पीडित भएको देखिएको छ । करिब ७३।८ प्रतिशत व्यक्तिमा उच्च रक्तचाप थियो भने ३४ प्रतिशतमा मधुमेह र ३०।१ प्रतिशतमा मुटुरोग थियो ।

अस्पतालमा भर्ना हुँदा ७६ प्रतिशतमा ज्वरो आएको थियो भने ७३ प्रतिशतलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । करिब ४० प्रतिशतमा खोकी थियो भने ८ प्रतिशत व्यक्तिमा झाडापखाला लागेको थियो ।

प्रतिवेदनमा औसत रुपमा रोगको लक्षण देखिएपछि ८ दिनभित्र मानिसको मृत्यु उल्लेख छ । यी मानिसहरु औसतमा चार दिनमात्र अस्पतालमा भर्ना भएको पाइएको छ । सर्वेक्षणमा समेटिएका ३ हजार २०० मृत्युमध्ये ९ जना मात्र ४० वर्षभन्दा मुनिका थिए ।