२९ फागुन, एजेन्सी।

आफ्नो देशको आकाशमा बोइङ ७३७ म्याक्सको उडानलाई निषेध गर्ने देशहरुको संङ्ख्या बढ्दै गएको छ । छ महिनाको अवधिभित्रै ७३७ म्याक्स मोडेलका दुईवटा विमान उड्नासाथ दुर्घटना भएपछि विभिन्न देशहरुले बोइङ ७३७ म्याक्सको उडानलाई निषेध गरेका हुन।

विमान निषेश गर्ने देशहरुको सूचीमा बुधबार न्यूजील्याण्ड पनि थपिएको छ। न्युजील्याण्डको नागरीक उड्डयन प्राधिकरणले बुधबार बिहान देशमा आउने र देशबाट उड्ने सबै बोइङ ७३७ म्याक्सलाई प्रतिबन्ध गरेको हो।

के भएको थियो ?

यसै साता इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स जहाज इथियोपियाको राजधानी आदिस अबाबाबाट उडेको केही मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाबाट सबै १५७ जना यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो । दुर्घटनामा नेपालकी एक युवतीको पनि निधन भएको थियो।

इन्डोनेसियाको लायन एयरले सञ्चालन गरेको यही मोडेलको विमान गत वर्ष अक्टोबरमा उड्नासाथ इन्डोनेसियाको जाभा द्वीपमा खसेको थियो । उक्त विमानमा सवार सबै १८९ जना यात्रु र चालक दलका सदस्यहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

चीन, कुवेत, युनाइटेड अबर इमिरेट्स, सिंगापुर, इथियोपिया समेतका विश्वका कतिपय देशले यो मोडेलको विमानमाथि प्रतिबन्ध लगाएका छन् । विमानको पूर्ण प्राविधिक परीक्षण भएर सुरक्षित छ भन्ने विश्वास भएपछि मात्र उडान गर्नुपर्ने दबाब बोइङ कम्पनीमाथि परेको छ ।

यो विमान अमेरिका र क्यानडाले सबैभन्दा बढी उडाउने गरेको छ। यी देशहरुले भने उडानमा कुनै प्रतिबन्ध लगाएका छैनन।

बोइङले समेत विमानमा कुनै प्राविधिक समस्या देखिए त्यसलाई सुल्झाउन भरमग्दूर प्रयास गरिने स्पष्ट गरिसकेको छ ।