३० असोज, एजेन्सी । युरोपेली संघबाट बेलायत बाहिरिनेबारेमा युरोपेली संघ (इयु) र बेलायतले नयाँ सम्झौताका लागि सहमति भएको छ ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत् नयाँ सम्झौतामा पुगेको संघका अध्यक्ष क्लाउड यङ्कर र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जानकारी गराए । यङ्करले बिहीबार लेखेका छन्, ‘जहाँ चाहना, त्यहाँ उपाए । हामी एकै ठाउमा हुनेछौँ र सम्झौता गर्नेछौँ ।’

‘हामीले अहिले नयाँँ कानूनका लागि सहमति बनाएका छौँ । सहमति सबैको विजयका लागि भएको छ । यसले हाम्रो एकल बजार र आएरल्याण्डको शान्ति तथा स्थायित्वको रक्षा गर्नेछ भने बेलायत र इयूको मित्रतालाई निरन्तरता दिनेछ ।’

‘हामीले नयाँ र वैध समाधान ल्याएका छौ जसले कडा सीमा कानूनलाई प्रयोगमा ल्याउने छैन र आएरल्याण्डको शान्ति र स्थायित्वलाई रक्षा गर्नेछ ।’

बेलायत र युरोपेली संघका लागि यो सम्झौता पारदर्शी र सन्तुलित हुनुका साथै समस्या समाधानको उपायको रूपमा पनि रहेको उनले बताए । ब्रसेल्स सम्मेलन सुरु हुनुभन्दा केही घण्टा अगाडि उनीहरुबीच सम्झौता भएको हो । इयू नेताहरू सहभागी हुने ब्रसेल्स सम्मेलनबाट पास गरेपछि सहमति औपचारिकता पाउनेछ ।

यस पहिले पूर्व प्रधानमन्त्री टरिजा मे ले गरेको सम्झौतामा बेलायतको संसदमा बहुमत जुट्न नसक्दा ब्रेक्जिट प्रक्रिया लम्बिएको र यसका लागि नयाँ पहल प्रधानमन्त्री जोनसनले अघि बढाएका थिए ।

बेलायती प्रधानमन्त्री जोनसोनले सम्झौतालाई अगाडि बढाउन आफ्नो संसदले साथ दिने विश्वास व्यक्त गरे । सांसदहरुको आलोचनाकाबीच उनले सम्झौता गर्न लागेका हुन् । यो सम्झौतालाई बेलायतको संसदले पनि पारित गर्नुपर्दछ ।

सहमतिबारे प्रधानमन्त्री जोनसनले भने, ‘यो सम्झौताले मुलुकलाई सही बाटोमा लैजानेछ, देश र जनताको हितमा हुनेछ ।’ उनले आफ्नो पार्टी र सत्ता साझेदार पार्टीहरूलाई पनि सम्झौताको पक्षमा उभिन आग्रह गरेको अधिकारीहरूले जनाएका छन् ।