२३ पुस, एजेन्सी । इराकमा रहेको अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमणको बारेमा विश्वभरबाट प्रतिक्रिया आइरहेको छ । विभिन्न देश र संघ संगठनहरुले अमेरिका र ईरानबीचको विवादको विषयमा प्रतिक्रिया दिइरहेका छन् ।

युरोपियन युनियन (ईयु)ले मध्यपूर्वको हतियारको प्रयोग तत्काल बन्द गर्न अनुरोध गरेको छ । ईयुले अमेरिका र ईरान दुवैले संवादको माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने बताएको छ । युनियनका अध्यक्ष उर्सुला वोन डेर लियनले आफूले यस विषयमा बेलायतका प्रधानमन्त्रीसँग कुरा गरेको बताए ।

जर्मनीका रक्षामन्त्री एनग्रेट क्राम्पले कुनैपनि पक्षबाट हुने आक्रमण अस्वीकार्य हुने बताएकी छन् । जर्मनीका सरकारी प्रवक्ता एआरडीको माध्यमबाट उनले ईरानले अब कुनैपनि तरिकाको सैन्य कारवाही नगर्न अनुरोध गरेको छ । साथै उनले इराकको आक्रमणमा कुनैपनि जर्मनीका कुनैपनि सेनाको मृत्यु नभएको बताए ।

युनाइटेड अरब इमिरेट्स (युएई)का विदेशमन्त्री अनवर गर्गाशले वर्तमान तनाव मध्यपूर्वको लागि ठिक नभएको प्रतिक्रिया दिएका छन् । तनाव कम गर्नु विवेकपूर्ण हुनु उनको तर्क छ । राजनीतिक संवादबाट तनाव गर्नुसकिने गर्गाशले बताए ।

पाकिस्तानले पनि ईरानको सैन्य कारवाहीको बारेमा प्रतिक्रिया दिएको छ । उसले ईरान र इराक जान लागेको पाकिस्तानी नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी सन्देशमा पहिलेदेखि नै इराकमा रहने आफ्ना नागरिकहरुलाई बगदादस्थिल पाकिस्तानी दुतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

नेपालको छिमेकी देश भारतले आफ्ना नागरिकसँग आवश्यकता नभई ईरान र इराकको भ्रमण नगर्न अनुरोध गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले अर्को सूचना नआएसम्मको लागि भ्रमण नगर्न आग्रह गर्दै त्यहाँ पहिल्यैदेखि रहने भारतीयहरुलाई बाहिर ननिस्कन पनि भनेको छ ।

यो पनि पढनुस: यसरी जोगायो ईरानले ठुलो युद्धबाट !

अस्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनले आफ्ना देशका कुनैपनि सैनिक र डिप्लोम्याटहरु सुरक्षित रहेको बताए । अस्ट्रेलियाका करिब ३ सय सुरक्षाकर्मी इराकमा छन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले भने, ‘अमेरिकाले जासुसीको सूचनाको आधारमा ईरानमाथि आक्रमण गरेको थियो ।’