सियोल, ५ बैशाख– उत्तर कोरियाले बुधबार नयाँ सामरिक महत्वको हतियार परीक्षण गरेको छ । उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएका अनुसार सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियारले निकै सहयोग पुग्नेछ ।

केसीएनएले उत्तर कोरियाली नेता किम जोङ–अनले बुधबार उक्त नयाँ हतियारको परीक्षण कार्यको निरीक्षण गर्नुभएको जनाएको छ । तर नयाँ हतियारका बारेमा विस्तृत विवरण दिइएको छैन । उत्तर कोरियाली नेताले गत वर्ष नोभेम्बरयता पहिलो पटक नयाँ हतियारको निरीक्षणमा सहभागी भएका हुन्। उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको हनोईमा भएको दोस्रो शिखर वार्ता विफल भएपछि उत्तर कोरियाले नयाँ हतियार परीक्षण गरेको हो ।

किमको भनाई उद्धृत गर्दै केसिएनएले भनेको छ, “नयाँ हतियारले पिपुल्स आर्मीको क्षमता बढाउन ठूलो मद्दत गर्नेछ । सेनालाई आधुनिक हतियारबाट सुसज्जित तुल्याउन उत्तर कोरियाली वैज्ञानिकहरुले गरेको अनुसन्धान कार्यको म उच्च मूल्याङ्कन र प्रशंसा गर्दछु ।” विज्ञहरुले नयाँ विकसित हतियार छोटो दूरीको नियन्त्रित वा क्रुज क्षेप्यास्त्र रहेको बताएका छन् । हतियार परीक्षणको निरीक्षणका लागि किमको उपस्थिति संयुक्तराज्य अमेरिकामाथि दबाब सिर्जना गर्नका लागि भएको विज्ञहरुको भनाई छ ।

कोरियाली अध्ययन केन्द्रका निर्देशक ह्यारी काजियानिसले अमेरिकाको जबर्जस्ती अडानबाट निराश भएको देखाउन हतियार परीक्षणमा उत्तर कोरियाली नेता किम स्वयं उपस्थित भएको हुन सक्ने बताउँछन् । एउटा रुसी अखबारले रुसी विदेश मन्त्रालयको स्रोतलाई उल्लेख गर्दै नेता किम र राष्ट्रपति भ्लादिमिर पुटिनबीच अर्को साता शिखर बैठक गर्न तयारी जोडतोडका साथ भइरहेको जनाएको छ । जापानको एक टेलिभिजन च्यानलले किमका मुख्य सहयोगीलाई रुसी शहर भ्लाडिभोस्टकमा देखिएको जनाएको छ ।

रुसको दैनिक अखबार इज्भेस्टियाले रुसी विदेश मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै पुटिन र किमबीचको पहिलो शिखर बैठक भ्लाडिभोस्टकमा हुन सक्ने बताएको छ । राष्ट्रपति पुटिन चीनमा आगामी अप्रिल २६–२७ मा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनेक्रममा भ्लाडिभोस्टकको भ्रमण छन् । (रासस-योनहाप)