२७ फागुन, एजेन्सी । रहस्यमय देशको रुपमा परिचित उत्तर कोरियामा कोभिड नाइन्टिन भनिने कोरोना भाइरसका कारण झण्डै २ सय सैनिकको मृत्यु भएको खुलासा भएको छ ।

अन्तराष्ट्रिय अनलाइन न्यूज पोर्टल डेली एनके ले जनाए अनुसार उनीहरुको कोरोना संक्रमणकै कारण मृत्यु भएको हो । सैन्य गोप्य स्रोतलाई उद्यृत गर्दै लेखिएको समाचार अनुसार सेनाको मेडिकल युनिटले नेतृत्वलाई कोरोनाको प्रभावबारेको रिपोर्ट पठाएको थियो । जसमा जनवरीमा कोरोना संक्रमणका कारण १ सय ८० जना सैनिकले ज्यान गुमाएको उल्लेख गरिएको छ ।

मृत्यु हुनेमा अधिकांश सिनो उत्तर कोरिया सीमाक्षेत्रमा कार्यरत सैनिक रहेका बताइएको छ । ३ हजार ७ सय जनालाई अहिले पनि क्वारेन्टाइनमा राखिएको समाचारमा उल्लेख गरिएको छ ।

केही सैनिकहरु उच्च ज्वरो, निमोनिया, दमलगायतका कारण मृत्यु भएपछि सैन्य नेतृत्वले तथ्याङ्क संकलन गर्न आदेश दिएपछि यस्तो रिपोर्ट आएको समाचारमा दाबी गरिएको छ । यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।