२४ भदौ, काठमाडौं । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ ।

भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरेका छन् । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको समुद्घाटन गरेका हुन् ।

उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर रहेको छ ।

पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ । हेर्नुहोस् पाइपलाइनको उद्घाटको लागि सजाइएको अमलखगञ्जमा रहेको नेपाल आयल निगमको डिपोका केही तस्बिरहरुः