१८ चैत, काठमाडाैं । यो महिना वर्षको सबैभन्दा कम पानी उत्पादन हुने महिना भए पनि काठमाडौँ उपत्यकामा खानेपानीको अभाव यो वर्ष अघिल्ला वर्षहरुमा भन्दा कम भएको छ ।

कोभिड–१९ को त्रासका कारण धेरैले सरकारले ‘लकडाउन’ घोषणा गर्नु पहिले नै उपत्यका छाडेकाले यो वर्ष पानीको अभाव कम भएको हो । काठमाडौँ उपत्यकामा हालको स्रोतले वर्षामा समेत मागअनुसार पानी वितरण हुन सक्दैन । चैत, वैशाखको महिना वर्षभरमै सबैभन्दा कम पानी हुने महिना भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । लिमिटेडले हाल क्षमतानुसार पानी वितरण गरिरहेको प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो ।

भूकम्पका समयमा घरभित्र जान त्रासका कारण ट्याङकरबाटै बढी पानी वितरण गरिएकामा लिमिटेडले अहिले भने घरमै पानी पु¥याउन लागिपरेको छ । लिमिटेडले सार्वजनिक ट्याङ्कीबाट पनि पानी ग्राहकका घर घरमा जाने पाइपमै पठाउने गरेको छ । उहाँले भन्नुभयो, “सार्वजनिक धारामा मानिसको भीडभाड हुनसक्ने भएकाले हामीले सकेसम्म बढी पानी घर घरमै पठाइरहेका छौँ ।”

कर्मचारीलाई आवश्यक सावधानी अपनाएर फिल्डमा काम गरिरहेको उहाँले बताउनुभयो । कर्मचारी फिल्डमा जान जोखिमपूर्ण भएकाले उपलब्ध भएसम्ममा सुरक्षा सामग्री दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले मास्क र पञ्जा र सेनिटाइजर दिए पनि एप्रोन दिन सकिएको छैन ।” काठमाडौँ उपत्यकामा अहिलेको अवस्थामा सुख्खा मौसममा दैनिक नौ करोड लिटर पानी लिमिटेडले वितरण गर्दै आएको छ । रासस