१० माघ, चितवन । नारायणी नदीमा सञ्चालनको तयारीमा रहेको क्रुज (सानो पानीजहाज)मा आज उपराष्ट्रपति नन्दकिशोर पुनले परीक्षण शयर गरेका छन् । क्रुजको निरीक्षणपछि नारायणी नदीमा केही समय उपराष्ट्रपति पुनसहितको टोलीलाई क्रुजमा यात्रा गराइएको थियो ।

भरतपुर महानगरपालिका–१६ स्थित काभ्रेघाटमा नदी किनारमा क्रुज निर्माण कार्य अन्तिम चरणमा पुर्याइएको छ । औपचारिक शुभारम्भअघि नै उपराष्ट्रपति पुनलाई परीक्षण शयर गराइएको हो । सो अवसरमा पुनकी धर्मपत्नी हस्तमाया पुनसहित उपराष्ट्रपतिको सचिवालयका कर्मचारीहरु पनि सहभागी थिए । क्रुजको निरीक्षण र शयरपछि उपराष्ट्रपति पुनले खुशी व्यक्त गर्दै राम्रो कार्यको थालनी भएको प्रतिक्रिया दिए।

पत्रकारको प्रश्नमा उनले भने, “राम्रो छ । राम्रो भइरहेको छ । अन्य कुरा पछि भनाैँला ।” उपराष्ट्रपति पुनलाई क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले क्रुजका बारेमा जानकारी गराएका थिए । कँडेलका अनुसार क्रुज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी वैशाख महिनाभित्रमा क्रुजलाई नियमित सञ्चालनमा ल्याउने तयारी गरिएको छ । क्रुजको भुइँतल्लामा ९०, पहिलो तल्लामा १०० जना बस्न मिल्ने सिट रहने छन् ।

कँडेलका अनुसार पहिलो तल्लाको अगाडिपट्टि र दोस्रो तल्लाको खुला ठाउँमा १५ जना उभिन मिल्ने छ भने पहिलो तल्लामा १० वटा विशिष्ट व्यक्तिका लागि कुर्ची राखिने छ । क्रुज १०० फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ । क्रुजमा बिहानको खाजा खाँदै नदीमा शयर गर्न चाहनेले त्यसको मज्जा लिनेछन् । अपराह्न खाना नै क्रुजमा खाँदै रमाउन चाहनेका लागि दिवा खाना नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुने कँडेलले बताए । काभ्रेघाटदेखि शुरु यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि करीब तीन घण्टाको समय लाग्ने बताइएको छ ।

क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्वतयारी गरिरहेको कँडेलले बताए । क्रुज सञ्चालनका लागि आवश्यक प्राविधिक र अन्य कर्मचारी हाललाई विदेशी हुनेछन् । दीर्घकालीनरुपमा नेपाली जनशक्ति नै उत्पादन गर्नको लागि आवश्यक तालीम केन्द्र सञ्चालन गर्ने कँडेलले बताए ।

क्रुज जल प्रवाहको मापन, प्रकोपका चुनौतीको अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनपश्चात् नर्वेजियन प्रविधिको प्रयोगबाट भारतीय प्राविधिकको सहयोगमा नारायणी नदी किनारमै निर्माण गरिएको हो । क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरिरहेको छ । क्रुजमा दुई वटा इञ्जिन रहेका छन् । क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ । रासस