२० कात्तिक, लहान ।

सप्तरी क्षेत्र नम्बर २ बाट फोरम–राजपाका साझा उम्मेदवार उपेन्द्र यादव तनावमा छन् । कारण उनकै क्षेत्रबाट फोरम–राजपा गठबन्धनका नेता जयप्रकाश ठाकुर बागी उम्मेदवार बनेका छन् । अर्कोतर्फ वाम गठबन्धनका साझा उम्मेदवार उमेश यादवको जोड्दार टक्करले पनि यादव तनावमा देखिन्छन् ।

यादव समुदायको बाहुल्य रहेको यस क्षेत्रमा ७९ हजार २ सय ६३ मतदाता छन् । तीमध्ये करिब १३ हजार यादव समुदायका रहेको अनुमान छ । वाम गठबन्धनका उमेश यादव र उपेन्द्र यादवबीचको प्रतिस्पर्धाले यो जातीय मत बाँडिन सक्ने सप्तरीका बुद्धिजीवी विष्णु मण्डलको विश्लेषण छ ।

तत्कालीन क्षेत्र ३ र २ का केही भाग समेटेर हालको क्षेत्र २ बनाइएको छ । दोस्रो संविधानसभा निर्वाचनमा २ बाट माओवादीका अशोककुमार मण्डल र ३ बाट माओवादीकै उमेशकुमार यादव विजयी भएका थिए । फोरम दुवैमा दोस्रो भएको थियो । गत स्थानीय तह निर्वाचनमा भने फोरम र राजपाले उत्साहजनक मत प्राप्त गरेका छन् । आजको नागरिकमा खबर छ ।

स्थानीय तहको निर्वाचनमा यस क्षेत्रको राजविराज नगरपालिकामा राजपा, महदेवा गाउँपालिकामा फोरम, तिलाठी कोइलाडी गाउँपालिकामा राजपा र छिन्नमस्ता गाउँपालिकामा नयाँशक्तिले जितेका थिए । राजपा र फोरमको तालमेल भएकाले स्थानीय तहको मतका आधारमा उपेन्द्र बलिया देखिन्छन् । तर, गठबनधनभित्रकै बागी ठाकुर उनका लागि चुनौती बनेका छन् ।