१९ जेठ, इलाम ।

आसन्न दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा इलामको सन्दकपुर गाउँपालिका– १ मा एउटै पदका लागि सासूबुहारीको जुहारी चलेको छ ।

यस गाउँपालिकामा दलित महिला कोटामा नेकपा (एमाले) बाट सासू दिलमाया विक र नेकपा (माओवादी केन्द्र)बाट बुहारी सीता विक चुनावी प्रतिस्पर्धामा छन् । दुबैले आ–आफ्नो जित्ने दाबीका साथ मत माग्न गाउँ निस्किएका छन् ।

अहिले बुहारी चुनाव प्रचारपसारमा हिँडिरहेकी छिन् । ‘एउटै घरमा तीन÷चारवटा राजनीतिक दलमा त उम्मेदवार बनेका छन्, यहाँ हामी पनि सासू बुहारीनै दलित महिला कोटामा दुई फरक राजनीतिक दलबाट उम्मेदवार बनेका छौँं,’ सीताले भनिन।

एउटै पदमा एकै परिवारबाट दुई फरक दलबाट उम्मेदवारी परे पनि हामीबीच कुनै घरायसी समस्या नभएको दिलमाया बताउँछिन् । रासस