२१ साउन, काभ्रे । पनौती नगरपालिका–धनेश्वरस्थित धनेश्वर महादेव प्राथमिक विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’ को पहिलो दिनमा रु २९ लाख बराबरको दानसङ्कलन भएको छ ।

पशुपति अन्नपूर्ण आश्रमका अध्यक्ष डा जगदिश वैद्यले महायज्ञका अवसरमा विद्यालयको प्रगतिको कामना गर्दै विद्यालयको भौतिक पूर्वाधार विकासका लागि २७ लाख रकम सहयोग गर्ने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, ‘विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतले मासु, जाँड रक्सीलगायत वस्तु सेवन गर्न छोड्नुपर्छ, उहाँहरुले यति प्रतिबद्धता गर्नुभयो भने यस विद्यालयलाई मावि तहसम्म सञ्चालनको लागि आवश्यक पर्ने सहयोग गर्न तयार छु ।’

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्र थापाले विद्यालयको हितको लागि आफूले मासु, जाँड रक्सीलगायत वस्तु सेवन नगर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यालयको विकासका लागि सहयोग गर्नेहरुसंग निरन्तर रुपमा सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा अध्यक्ष थापा, स्थानीय समाजसेवी पवन थापा, सहकुल थापा र गोविन्द थापाले जनही रु २७ हजार एक रुपैयाँ विद्यालयलाई सहयोग गर्नुभएको जनाएको छ । महायज्ञको पहिलो दिनमा नै २९ लाख रकम सङ्कलन भएको ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’ मूल आयोजक समितिका संयोजकसमेत रहनुभएका थापाले बताउनुभयो ।

स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञमा कथा बाचकमा कथा ब्यास राष्ट्रिय विभूषित नारीविदुषी सुश्री अनुराधा शास्त्रिजी र देशव्यापी १०८ श्रीमद्भागवत सत्सङ्कल्प अभियानकर्ता मुमुक्षु श्री उद्धव शर्मा रहनुभएको छ ।

विसं २०३८ मा स्थापना भएको सो विद्यालय २०७२ को भूकम्पपछि करीब बन्द जस्तै अवस्थामा पुगेको थियो । चार जना शिक्षक दरबन्दी रहेको सो विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएपछि विसं २०७४ साउनबाट पूर्ण रुपमा बन्द नै भएकोमा २०७६ वैशाखबाट पुनः सञ्चालनमा ल्याएर अहिले कक्षा नर्सरीदेखि दुई कक्षासम्म सञ्चालन भइरहेको छ । सो विद्यालयलाई आर्थिक सहयोगका लागि महायज्ञ सञ्चालन गरेको विद्यालयले जनाएको छ ।

एक जना दरबन्दी र तीन जना निजी स्रोतमा गरी चार जना शिक्षकले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्दै आइरहेको सो विद्यालयमा अहिले ४३ जना विद्यार्थी अध्ययनरत छन् । रासस