सविना केसी
६ भदौ, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका विभिन्न टोलमा आएका विभिन्न देवी देवताहरु चार दिन चार रातपछि आगामी एक वर्षका लागि बिदा भएका छन् ।

गाईजात्राको भोलिपल्ट रातिदेखि मध्यपुरथिमिको लाय्कू दरबारबाट निस्किएर यहाँका विभिन्न क्षेत्रमा चार रातसम्म घुमेको लाय्कू भैल (भैरव) लगायतका देवताहरुलाई भोज खुवाएर बिदाई गरिएको छ ।

थिमिको लाय्कू भैल प्याखँमा ज्यापुँगः एक, न्हापा र लिपा गरी दुई भैरव र न्हापा र लिपा दाय्गी अर्थात दुई कुमारी गरी पाँच देवीदेवतालाई शास्त्रीय र तान्त्रिक विधिद्वारा विभिन्न मुद्रामा नाच प्रस्तुत गरेपछि यस वर्षका लागि बिदाई गरिएको हो ।

भैलः प्याखँमा भैरवले खड्ग र कुमारीले डमरु लिएर नाच्छन् भने ज्यापुँगःले कपासको बियाँ, अक्षता र ताय् ९लावा० भएको भाँडा हातमा लिएर नाच्छन् । ज्यापुँगःले भैरव र कुमारी नाच्दा नाच्दै क्रोधित भएर काम्ने बेला कपासको बियाँले हानेर शान्त पार्ने काम गर्दछन् ।

भैलः प्याखँमा पाँच देवीदेवताले नाच प्रस्तुत गर्ने भए पनि वाद्यवादन, सहयोगी र व्यवस्थापक गरी करीब तीन सय जनाको समूह अहोरात्र खटिनुपर्ने लाय्कू भैलः सञ्चालन समितिका संयोजक अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

चाररातसम्म थिमिको लाय्कू, बालकुमारी, दथुटोल, लाय्कू, ईनायटोल, दिगुटोल, चपाचो, गुँगचिभा र भुँलाखेललगायतका क्षेत्रमा चाररात नाचेका देवीदेवतालाई बिदाई गरिएको संयोजक श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी मध्यपुरथिमिको नगदेशबाट चार रात टोलटोलमा नाचेकी महाकालीलाई पनि एकवर्षका लागि बिदाई गरिएको छ । महाकाली, महालक्ष्मी, कुमारी, सिंह, बेटा, भूत भैरव, ख्याक, माक, महिषासुर, मयूरलगायतका देवीदेवता र राक्षससहितको महाकाली नाचका सबैलाई बिदाई गरिएको छ ।

नगदेशको च्वे त्वाः गाः, कुमालाछी, छ्वास त्वाः, नृत्यनाथ, बाहः ननीस्थित उःननी र थःननी, झ्वापुननी, क्वें त्वाः गाः र पुखुसीमा पनि प्रदर्शन गरिन्छ । दश ठाउँमध्ये नृत्यनाथ, च्वे त्वाः गा, छ्वास त्वाः र उःननी, लाछी टोललगायतका क्षेत्रमा प्रदर्शन गरिएको यो नाच चार रात प्रर्दशन पछि बिदाई गरिएको नाचका गुरु भक्तबहादुर घजुले जानकारी दिनुभयो ।

गुरु घजुका अनुसार मुहाली बाजा, नायखिँ, धा बाजा, ताः, मृदङ्ग, भुस्याय्, छुस्याय्लगायतको बाजाको संयुक्त ताल एवं २१ तालमा उक्त नाच प्रस्तुत गरिन्छ ।

यता बोडेको ऐतिहासिक नीलवाराही नाच चार दिन चार रात बोडेको विभिन्न स्थानमा प्रदर्शन गरी बिदाई गरिएको छ । यो नाच बोडेको नारायणस्थान लाछीबाट शुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलवाराही स्थान हुँदै पुनः नारायणथानमा प्रदर्शन गरेर समापन गरिन्छ ।

नाचमा धा बाजा, भुस्या, काँय, पोङ्गा बाजाको तालमा परम्परागत शैलीमा देवी र देवगणहरू नाच्ने गुठीका नाइके प्रेमचन्द्र अदुवा श्रेष्ठले बताउनुभयो । यो नाच फरकफरक दिन र समयमा फरकफरक स्थानबाट शुरु गर्ने परम्परा रहेको गुठी नाइके श्रेष्ठले बताउनुभयो ।

नीलवाराही नाचमा भैरव एक, वाराही चार, कुमारी चार, सिहं चार, द्वारपाल दुई र गणेश चार गरी १९ देवीदेवता रहेका हुन्छन् । देवगणका ज्वकुलु (सहयोगी) र वाद्यवादक गरी सय जनाभन्दा बढी व्यक्तिहरू यो नाचमा क्रियाशील हुने श्रेष्ठले जानकारी दिनुभयो । नीलवाराही गणनाच तान्त्रिक विधि विधानयुक्त नाच हो ।

थिमिका तीनवटै नाच नामुद शास्त्रज्ञ, तान्त्रिक र विद्वान गुरुहरूले तान्त्रिक विधिद्वारा मानिसमा विभिन्न देवीदेवताहरू जगाएर रातभर नचाउन शुरु गरी भूतप्रेत, पिशाच, डाकिनी, प्रेतात्मा, दानवलगायतलाई भगाउन गाईजात्राको भोलिपल्टदेखि चार रात मध्यपुर थिमिमा भैरव, महाकाली, निलवाराही लगायतका देवीदेवता जाग्ने गरेको बताइन्छ । रासस