३० वैशाख, काठमाडौँ।
‘एबिसी’ टेलिभिजनबाट प्रसारित ‘एबिसी वाच’ कार्यक्रममा सिके राउतसँगको अन्तर्वार्ताबाट नेपालको सार्वभौमसत्तामा खलल पुगेको जनाई प्रेस काउन्सिल नेपालले आज क्षमायाचना गर्न निर्देशन दिएको छ ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले टेलिभिजनलाई जनतासमक्ष क्षमायाचना गर्न निर्देशन गरेको हो । विसं २०७२ चैत १७ गते सो टेलिभिजनबाट राउतसँगको अन्तर्वार्ताबाट नेपालको भौगोलिक अखण्डता र सामाजिक सद्भावमा खलल पुगेको तथा पत्रकार आचारसंहिताको गम्भीर उल्लङ्घन भएको जनाई काउन्सिलले टेलिभिजनलाई स्पष्टीकरण सोधेकामा टेलिभिजनले ‘कुनै पनि नेपाली नागरिकले व्यक्त गर्ने अभिव्यक्तिप्रति स्वयम् जिम्मेवार रहने, नेपाली नागरिकको भनाइ समेट्ने स्वाभाविक प्रक्रियाअन्तर्गत नै राउतको अन्तवार्ता प्रसारण गरिएको’ बताएको थियो ।

टेलिभिजनले दिएको जवाफ चित्त बुझ्दो नभएपछि काउन्सिलले राष्ट्रियताप्रतिको चोट पुर्याएको र आचारसंहिता उल्लङ्घन गरेको जनाई आज क्षमायाचना गर्न निर्देश गरेको हो । रासस