२७ साउन, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगिता आगामी फागुनमा हुने भएको छ ।

लिगका प्रबन्ध निर्देशक आमिर अख्तरले सोमबार विज्ञप्ती जारी गर्दै प्रतियोगिता फागुन १७ देखि चैत १ गते सम्म संचालन हुने जानकारी दिएका हुन् । अघिल्लो वर्ष सफल रुपमा प्रतियोगिता सम्पन्न भएपछि इपिएलले यसपटक प्रतियोगिता अझ भब्य बनाउने गरी तयारी सुरु गरेको छ ।

प्रतियोगितामा विश्वचर्चित क्रिकेट खेलाडीले सहभागिता जनाउने भन्दै फ्रेन्चाइज टिमले आफ्नो विदेशी खेलाडीको घोषणा केही दिनमै गर्ने पनि इपीएलले जनाएको छ । मंसिर पुस महिनामा मध्य जाडो हुने भएकाले विहानको खेल बेलेमै सुरु गर्न नसकिने हुँदा फागुनमा सारिएको हो । प्रतियाेगिताकाे मिति स्वीकृत गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)लाई पत्राचारको काम अघि बढाइएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको अन्तर्राष्ट्रिय गुणस्तरको भिडियो प्रशारणका लागि अन्तर्राष्ट्रिय कम्पनीहरुसँग कुराकानी भइरहेको पनि आयोजकले जनाएको छ । ‘हामी नेपाली खेल पनि पहिलो पटक अन्तर्राष्ट्रिय खेल जसरी प्रशारणको स्तर बढाउनका लागि उत्साहित भएर लागिरहेका छौं’ विज्ञप्तीमा भनिएको छ ।

इपीएलले फ्रेन्चाइज टोलीका लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट एक चर्चित खेलाडीलाई आइकानिक प्लेयरका रुपमा अनिवार्य सहभागी गराउनुपर्ने व्यवस्था गरेको छ । यसरी राखिने आइकानिक खेलाडी टेष्ट मान्यता प्राप्त राष्ट्रबाट राख्नुपर्ने इपिएलले व्यवस्था गरेको छ ।