२२ फागुन, काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । आयोजक ईपीएलले बिहिबार पत्रकार सम्मेलन गर्दै ईपीएल स्थगित गरिएको जनाएको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरस विश्वब्यापी फैलदै गएपछि ईपीएल स्थगित गरिएको आयोजकले जनाएको छ । आयोजकले नेपाल सरकार, नेपाल क्रिकेट संघ, सहभागी टिम, प्रायोजकसँगको छलफलपछि प्रतियोगिता स्थगित गरेको जनाएको छ । नयाँ मिति कोरोना भाइरस नियन्त्रण भएपछि तय हुनेछ ।

‘कोरोनाको त्रासले गर्दा अहिले ईपीएल स्थगित गरेका छौँ । यस स्थिति नियन्त्रण भएपछि नयाँ मिति तय गर्ने छौँ,’ ईपीएलका एमडी आमिर अख्तरले पत्रकार सम्मेलनमा भने ।

यस अघि ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुने तय भएको थियो । यस्तै उद्घाटन खेलमा साविक विजेता ललितपुर पेट्रियट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुने तालिका रहेको थियो ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । साविक विजेता ललितपुरसंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।