मार्भल सिनेम्याटिक युनिभर्स सन् २००८ मा पहिलो फिल्म ‘आइरन म्यान’बाट सुरु भएको थियो। रोबर्ट डाउनी जुनियर यो फिल्ममा ‘आइरन म्यान’ को भूमिकामा थिए।

रोबर्टको लागि अब यसको यात्रा सकिएको छ। तापनि आर्थिक तवरले भने उनलाई ठुलो फरक नपर्ने देखिन्छ।

एक रिपोर्टको अनुसार ५४ वर्षीय यी हलिउड अभिनेता, जो मार्भल स्टुडियोको सबैभन्दा चर्चित अनुहार हुन, केही वर्ष अघि स्टुडियो प्रमुखसंग ‘विशेष आर्थिक सम्झौता’ गरेका थिए, जसमा आउँदा फिल्महरुका लागि फिल्मले गर्ने नाफाको केही प्रतिशत लिने तय भएको थियो।

अघिल्लो वर्ष रिलिज भएको ‘एभेन्जरः इन्फिटिनी वार’ले विश्वभर २ बिलियन डलर कमाइ गर्यो। रोबर्टले यस फिल्मबाट करिब ७५ मिलियन डलर (करिब ८ अर्ब ३६ करोड नेपाली रुपैयाँ) पारिश्रमिक लिएका थिए।

सन् २०१७ मा रिलिज भएको ‘स्पाइडर-म्यानः होमकमिङ’ फिल्ममा रोबर्टको लामो भूमिका छैन। फिल्ममा केही मिनेट मात्र झुल्किएका उनले ५ मिलियन डलर पारिश्रमिक लिएका थिए। यो फिल्मको लागि उनले केवल ३ दिन सुटिङ गरेका थिए।

हालै रिलिज भएको ब्लकबस्टर फिल्म ‘एभेन्जरः एन्डगेमले ४ दिनमा १.२ बिलियन डलर (करिब १ खर्ब ३३ करोड नेपाली रुपैयाँ) कमाइसकेको छ। फिल्मको कमाइ अझै जारी छ। यो फिल्मको नाफाबाट रोबर्टले पहिले भन्दा ठूलो रकम हात पार्ने पक्का छ।

एभेन्जर फिल्ममा उनका सहकर्मी, क्रिस इभान्स (क्याप्टेन अमेरिका), क्रिस हेम्सवर्थ (थोर) र स्कारलेट जोहानसन (ब्ल्याक विडो)ले पनि पारिश्रमिकको लागि पुनः सम्झौता गरेका थिए।

इभान्सले पहिले कुल नाफाको पाँच प्रतिशत पारिश्रमिक वापत लिने गरेका थिए, जसमा केमियो (छोटो भूमिका)को लागि छुटै पेसा लिन्थे। तर ‘एन्डगेम’ पूर्व उनले १५-२० मिलियन डलर पारिश्रमिकको लागि पुनः सम्झौता गरेको बताइएको छ।

त्यस्तै, पाँचवटा फिल्मको लागि सम्झौता गरेका हम्सेवर्थले सन् २०१० मा ‘इन्फिनिटी वार’ र ‘इन्डगेम’ को लागि पुनः सम्झौता गरी १५-२० मिलियन डलर पारिश्रमिक लिएका छन्।

जोहानसन्सको पारिश्रमिकको खबर भने बाहिर आएको छैन। तर उनले ‘एन्डगेम’मा १५-२० मिलियन डलर पारिश्रमिक लिएको अनुमान गरिएको छ। मार्भलकै ‘ब्ल्याक विडो’ फिल्म सन् २०२० मा रिलिज हुँदैछ, जसमा उनलाई प्रमुख भूमिकामा देख्न सकिनेछ।

फिल्म ‘एभेन्जरः एन्डगेम’ २६ अप्रिलमा रिलिज भएको थियो। यसले ३० अप्रिलसम्म विश्वभर १.२ मिलियन डलर (करिब १ खर्ब ६५ अर्ब नेपाली रुपैयाँ) कमाइसकेको छ। यो फिल्म ३५६ मिलियन डलरको लगानीमा बनेको हो।