२१ कात्तिक, काठमाडौं । भारतले आफ्नो राजनीतिक नक्सा सार्वननिक गरेपछि नेपालमा भारतको ब्यापक विरोध भइरहेको छ । भारतले आफ्नो नक्सामा नेपाली भूमि लिपुलेक र कालापानी समावेश गरेसँगै नेपालमा भारतीय नक्सा अमान्य हुनेदेखि भारत सरकारको व्यापक विरोध भइरहेको छ ।

सामाजिक सञ्जालबाट शुरु भएको विरोध, सडक हुँदै क्रिकेट मैदानसम्म देखिएको छ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेपालबीच भइरहेको फस्ट क्लास खेलको दोश्रो दिन त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर क्रिकेट मैदाननमा पनि भारतको विरोध भएको छ । भारतले नेपाली भूमिमाथि गरेको अतिक्रमणको विरोध गर्दै हास्यकलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ र दीपक आचार्य ‘काकु’ टिसर्ट र कालो पट्टी बाँधेर कीर्तिपुर मैदान गएका हुन् ।

उनीहरुले लगाएको सेतो टीसर्टको अगाडिपट्टीको भागमा ‘लिपु लेक र कालापानी हाम्रो हो’ लेख्दै अंग्रेजीमा ‘ब्याकअफइंडिया’ लेखिएको छ । त्यसैगरी उनीहरुले टाउकोमा बाँधेको कालो पट्टीमा पनि अंग्रेजीमा ‘ब्याकअफइंडिया’ लेखिएको छ । क्रिकेट खेलका पारखी उनीहरु नेपाली क्रिकेट टीमको हौसला बढाउन मैदान जाँदै गर्दा भारतले गरेको सीमा अतिक्रमणको पनि विरोध जनाएका छन् । उनीहरुको यो कदमलाई दर्शकहरुले पनि साथ दिएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनीहरुको कदमको खुलेर प्रशंसा गरेका छन् ।