२९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोली मधेशमा हुने चुनावी सभा सम्बोधनका लागि जाने भएका छन् । उनले भोली महोत्तरीको बर्दिवास नगरपालिका र बाराको जितपुर सिमरा उपमहानगरपालिकाको चुनावी सभालाई मात्रै सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

वरिष्ठ नेता झलनाथ खनालको भोलि बाराका विभिन्न स्थानीय तहका कार्यक्रमहरुमा सहभागी भई नेतृत्व र सम्बोधन गर्ने कार्यक्रम छ ।
पार्टी नेता माधवकुमार नेपाल प्रदेश नं. २ का विभिन्न जिल्लाहरुमा सक्रिय रहेका छन् । आफ्नो गृहजिल्ला रौतहटका साथै नेता नेपालले बारा, पर्सा, महोत्तरीलगायतका जिल्लाका चुनावी भेला, सभालाई सम्बोधन र उम्मेदवारहरुसँग घरदैलो पनि गरिरहेका छन् ।

उनले भोलि सिरहाको गोलबजार नगरपालिका लगायतमा सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी उपाध्यक्ष वामदेव गौतम र भीम रावल पनि विभिन्न जिल्लाका चुनावी कार्यक्रमहरुमा सहभागी भइरहेका छन् ।  पार्टी महासचिव ईश्वर पोखरेल मूलतः वीरगञ्ज महानगरपालिकामा बढी केन्द्रित हुँदै बारा र पर्साका विभिन्न कार्यक्रमहरुमा सक्रिय भएका छन् । उनी भोलि सिरहा र सप्तरीका कार्यक्रमहरुमा केन्द्रित रहने एमालेले जनाएको छ ।

पार्टी सचिव प्रदीप ज्ञवाली भदौ २८ देखि सप्तरीका विभिन्न कार्यक्रममा सहभागी हुँदै आजदेखि सिरहामा केन्द्रित भएका छन् । पार्टी सचिव भीम आचार्य मूलतः सप्तरीमा केन्द्रित छन् । पार्टी सचिव गोकर्ण विष्ट भोली सर्लाहीका विभिन्न कार्यक्रमहरुमा पुग्ने कार्यक्रम रहेको छ ।