१५ फागुन,काठमाडौ। पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न एमाले स्थायी समितिको बैठक बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा दलहरुबीच देखिएका विवादित विषयमा छलफल केन्द्रित हुनेछ । चुनावी सरकारको गठन र एमालेको भूमिकाका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेलको पहलमा बोलाइएको बैठकमा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन अध्यक्ष झलनाथ खनालले गरेको समर्थनका विषयमा छलफल केन्द्रित हुनेछ । नेपाल र पोखरेल सुरुदेखि नै यसको विपक्षमा थिए । यसअघि बोलाइएको बैठक अध्यक्ष खनालको निर्देशनमा स्थगित भएको थियो । प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा सरकार बन्ने देखिएपछि आउने अप्ठ्यारा र एमालेको भूमिकाका विषयमा स्थायी समितिमा छलफल हुने बताइएको छ।