२१ मंसिर, बाँके । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीसोनारी गाउँपालिका–२ जिरो पोइन्टमा भएको सवारी दुर्घटनामा एक शिशुसहित दुई जनाको मृत्यु भएको छ ।

नेपालगञ्जदेखि दाङतर्फ बिरामी लिएर जाँदै गरेको रा १ झ १६१ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको ना ८ ख ५४३२ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा एक शिशु र चालक सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का २८ वर्षीय चित्रबहादुर सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । शिशुको घटनास्थलमै र एम्बुलेन्स चालकको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले दुर्घटनामा दाङको दङ्गीशरण नगरपालिका–५ का ३६ वर्षीय तीलकराम खड्का र उहाँकी पत्नी २४ वर्षीया मालती खड्का घाइते र तिलकरामको अवस्था गम्भीर रहेको छ । घाइते दुवै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको भइरहेको छ । रासस