२४ भदौ, काठमाडौं । १९ वर्ष मुनीको एसिया कप क्रिकेटमा नेपालले युएईविरुद्ध सान्त्वना जित दर्ता गराएको छ ।

नेपालले दिएको २ सय ८६ रनको चुनौति पछ्याएको युएई ३४ दशमलब ४ ओभरमा १ सय २५ रनमा समेटिएको हो । नेपालका सागर ढकालले ३, सूर्य तामाङ, रसिद खान र पवन सर्राफले समान २/२ र कमलसिंह ऐरीले एक विकेट लिए । टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनाएको हो ।

उसका लागि कप्तान रोहित कुमार पौडेलले ६७ रनको महत्वपूर्ण योगदान गरे । ८३ बल खेलेका उनले ८ चौका र एक छक्का हिर्काए । सन्दिप जोराले ६ चौकाको मद्दतमा ४८ रन जोडे भने मोहम्मद आसिफ शेखले ४५ रन बनाए । रसिद खानले ४४ र कमलसिंह ऐरीले ४१ रन जोडे । यसअघिका दुई खेल हारिसकेकाले नेपालका लागि आजको जित प्रतिष्ठामै सिमित रह्यो ।