९ असोज, काठमाडौं । केहीदिन अघि वीरगञ्जमा एसिड आक्रमणमा परेकी १४ वर्षीया किशोरी मुस्कान खातुन अहिले काठमाडौंको कीर्तिपुरमा उपचाररत छिन् । स्कुल पढ्न जाने क्रममा उनलाई आफ्नै कक्षा पढ्ने दुई साथीहरुले प्रेमप्रस्ताव अस्वीकार गरेको भन्दै एसिड छ्यापेका थिए ।

उनै मुस्कान खातुनलाई अहिले बलिउडका दुई कलाकारले स्वास्थ्य लाभको कामना गरेका छन् । उनलाई मन पर्ने बलिउड कलाकार कृति सेनन र वरुण धवनले उनलाई स्वास्थ्यलाभको कामना गरेका छन् । कृतीले मुस्कानसँग भिडियो कल गरिसकेकी छिन् भने वरुणले भिडियो सन्देश पठाएका छन् । उनले मुस्कानलाई ठीक भएपछि आफूसँग भेट्न आउन पनि अनुरोध गरेका छन् ।

भिडियोमा वरुणले भनेका छन्, ‘हाई मुस्कान, मलाई तपाईको बारेमा कृति भनेकी थिइन् । मलाई थाह छ, तपाई छिट्टै ठिक हुनुहुन्छ । तपाईलाई पढ्न धेरै मन पर्छ भन्ने सुनेको छु । तपाई छिट्टै ठिक हुनुस् र निकै मिहेनत गरेर अगाडी बढ्नुस् । तपाई अलि तन्दरुत भएपछि मलाई फेस टु फेस भेट्ने प्रयास गर्नुस् । तपाईलाई धेरै माया ।’ यसअघि उनलाई नेपाली कलाकाहरुले पनि भेटेका छन् । उनलाई गायक राजु लामाले भेटेर ‘तिमीलाई देखेर हिमाल हाँसेको’ बोलको गीत गाएका थिए ।