१५ असोज, काठमाडौं । एसिड आक्रमणबाट घाइते भएकी वीरगञ्जकी मुस्कान खातुनलाई बलिउड सुपरस्टार अमिताभ बच्चनले भिडियो सन्देश पठाएका छन् । मुस्कानको उपचारमा सहयोग गरिरहेका उज्वल विक्रम थापामार्फत् भिडियो सन्देश पठाउँदै अमिताभले मुस्कानको स्वास्थ्य लाभको कामना गरेका छन् ।

अमिताभको भिडियो सन्देश बुधबार ४ बजे कीर्तिपुर अस्पतालमा उपचारार्थ भर्ना भएकी मुस्कानलाई थापाले सुनाएका थिए । भिडियोमा अमिताभले मुस्कानलाई सम्बोधन गर्दै उनीमाथि भएको घटना थाहा पाउँदा ज्यादै दुःख लागेका बताएका छन् । ‘तपाईंलाई के भयो भन्ने मैले उज्वलबाट थाहा पाउँ ’ अमिताभले भिडियोमा भनेका छन, ‘तपाईलाई जे भयो, त्यो निकै दर्दनाक हो । यस्तो घटना थाहा पाउँदा अत्यन्तै दुखित छु ।’

अमिताभले मुस्कानलाई हिम्मतवाली बालिकाको रुपमा बुझेको बताएका छन् । ‘तपाईंको नाम नै अति सुन्दर छ,’ उनले भनेका छन्, ‘मुस्कानको अर्थ कति राम्रो हुन्छ, तपाईको अनुहारमा निरन्तर मुस्कान छाई रहोस ।’ खातुनलाई गत भदौ २० गते दुई जना युवाले पानी भनेर एसिड खुवाउन लागेका थिए । उनले एसिड खान नमानेपछि उनीहरुले अनुहारमा छ्यापेर भागेका थिए ।
यसअघि बलिउडका केही कलाकारले पनि भिडियो सन्देशबाट मुस्कानको स्वास्थ्य लाभको कामना गरेका थिए ।