१० फागुन, काठमाडौं । एसियाली विकास बैंकले नेपालको ऊर्जा, भौतिक पूर्वाधार तथा शिक्षालगायतका क्षेत्रमा करिब रु ५० अर्ब थप लगानी गर्ने जनाएको छ ।

बैंकले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरेर थप लगानीका लागि आफूहरुले प्रयास गरिरहेको र त्यसमा नेपाल सरकारको सहयोग रहने जानकारी दिइयो ।

आगामी असोज अन्तिमसम्म मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुने क्रममा रहेको भन्दै बैंकका उपाध्यक्ष बेन्चाई झाङले ढिला भए पनि आयोजनाले गति लिएकामा खुसी व्यक्त गरे ।

सोही आयोजनाको दोस्रो चरणका लागि थप लगानी गर्ने विषयमा आफूहरुले छलफल गरिरहेको तथा अन्य केही ठूला आयोजनामा समेत लगानी गर्ने तयारीमा बैंक रहेको बताए ।

मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको काम सम्पन्न भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले दिने सेवा प्रवाहका आधारमा लार्के र याङ्ग्रीको पानी ल्याउने विषयमा समेत छलफल गरिने उनको भनाइ थियो ।

सन् २०३० सम्म नेपाललाई मध्यमस्तरीय आय भएको मुलुकमा रुपान्तरण गर्ने लक्ष्यका साथ सरकारले अगाडि सारेको रणनीतिक योजनालाई सफल बनाउन बैंकको तर्फबाट भरपुर सहयोग रहने उपाध्यक्षको भनाइ थियो ।

बैंकले लगानी गरेको तनहुँ सेती जलविद्युत् आयोजना र गौतमबुद्ध विमानस्थलको काम प्रभावकारी रुपमा अगाडि बढेको उल्लेख गर्दै उनले पछिल्लो दिनमा परियोजना कार्यान्वयनमा आएको सहजताले आफूहरुलाई खुसी तुल्याएको बताए ।