१० मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।

बाराको निजगढमा आयोजित जनसभालाई सम्बोधन गरेर फर्किएका प्रचण्ड काठमाडौं आउने वित्तिकै ओलीलाई भेट्न मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन् । प्रधानमन्त्री ओलीको आज विहान एपेण्डिसाइटिसको अप्रेशन गरिएको थियो । उनलाई अहिले आइसियुमा राखिएको छ ।

प्रचण्डले डाक्टरहरुसँग प्रधानमन्त्री ओलीको स्वास्थयबारे जानकारी लिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । प्रचण्डलाई डाक्टरहरुले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अप्रेशन सफल भएको र स्वास्थ्यमा राम्रो सुधार हुने बताएको सापकोटाले उल्लेख गरे ।