२३ जेठ, काठमाडाै‌ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई लोकतन्त्रको निष्ठाप्रति कति प्रमाण चाहियो ? भन्दै प्रतिप्रश्न गरेका छन् ।

संसद बैठकमा बोल्दै प्रचण्डले भरतपुरमा मतपत्र च्यातिएको विषय उठाउँदै ओलीले लोकतन्त्रको निष्ठाप्रति प्रश्न उठाएको भन्दै प्रतिप्रश्न गरेका हुन् । उनले भने, भरतपुरमा मतपत्र च्यात्ने घटना दुखःद छ , गलत छ, सुन्नेवित्तिकै मैले गलत भनेको छु, प्रधानमन्त्रीको हैसियतले बोलाएर निर्वाचन आयोगलाई जे ठिक लाग्छ त्यहि गर्नुस् भनेको छु ।

उनले अगाडि भने, दोस्रो संविधान सभा चुनावको मतगाणना चलिरहँदा हाम्रा लागि अनपेक्षित रुपमा चुनावी परिणाम आउँदै गएपछि तात्कालिन पार्टीका नेता (बाबुराम भट्टराइप्रति संकेत गर्दै)जो अहिले हाम्रो पार्टीमा हुनुहुन्न, उहाँले चुनाव स्वीकार्नु पर्दैन, बाहिर निक्ल, मतपत्र च्यात्नुपर्छ, मतपेटिका जलाउनुपर्छ भन्दा मैले हस्तक्षेप गरेर रोकेकै हो ।

राति २ बजे उहाँलाई बोलाएर यो गलत निर्णय हो, अहिले हामी शान्ति प्रक्रियामा छौं शान्ति र लोकतन्त्रप्रतिको निष्ठामा गम्भीर प्रश्न उठ्छ भनेर मतपत्र च्यात्ने होइन, बरु मतदान केन्द्र छोड्दिउँ जलाउने कुरा हुँदैन भनेर मैले भनेको हो ।

शान्ति प्रक्रियादेखि अहिलेसम्म आउँदा लोकतन्त्रको निष्ठाप्रति कति प्रमाण चाहियो, शान्ति प्रक्रिया देखि अहिलेसम्म, तपाइहरुलाई कति समय लाग्यो लोकतान्त्रिकरण हुन ?

मतपत्र च्यातिनु भन्दा ५ ६ दिन अगाडि जतिबेला देबी ज्ञवालीजी झण्डै ४ हजार मतले अगाडि हुनुहुन्थो, रेणु दाहाल जो मेरो छोरि पनि हुन्, उनलाई मैले फोन गरेर तिमि जितेपनि जित्यौ, हारेपनि जित्यौ ढुक्क संग बस्नु भने, यो मेरो अन्तरआवाज थियो, त्यसपछि मेरो चितवनमा कुनै सम्पर्क भएको थिएन । तर यहाँप्रतिपक्षी दलका मित्रले बडो गजबको कुरो गर्नुभो ।

सांकेतिक रुपमा लाज शरम लाग्छ भन्नुभयो । सबै कुरा भन्नुस म सामना गर्न तयार छु । भन्नलाई के लाज भो र गर्नेलाई हुने हो नि लाज । मलाई त तपाइले भनेको ठिक छ भन्ने लाग्या छ तर कानुनले के भन्छ, गर्न दिउँ, छानवीन हुन दिउँ नीति नियम अनुसार गरेन भने अदालत छँदैछ, त्यहाँ गएको पनि छ ।