२० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारबाटै प्रशासनिक काम गर्ने भएका छन् । बिहीबार अस्पतालबाट डिस्चार्ज भएर आराम गरिरहेका प्रधानमन्त्री ओलीले आजदेखि अत्यावश्यक तथा प्रशाशकिय काम बालुवाटारबाटै गर्ने तयारी गरेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बालुवाटारबाटै अत्यावश्यक काम गर्ने भनिएपनि आजका लागि भने औपचारिक कार्यक्रम तय नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले आज अत्यावश्यक भेटघाट गर्नेछन् । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ओली हिजो दशौँ दिन अस्पतालबाट डिस्चार्ज भएका थिए ।

एपेन्डिसाइटिस पाकेर पेटमा संक्रमण हुँदा गत मंसिर १० गते उनको शल्यक्रिया गरिएको थियो । प्रेस सल्लाहाकार थापाका अनुसार अस्पतालबाट डिस्चार्ज भएर बालुवाटारमा आराम गरिरहनुभएका ओली चिकित्सकको निगरानीमै रहनु भएको छ ।