१४ कात्तिक, खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ठगिएका पाँच जनाको उद्धार गरिएको छ ।

सम्झौताअनुसार काम र लामो समयसम्म तलबसमेत नपाएको भन्दै दिक्तेलस्थित सामी परियोजनामा उजुरी दिएपछि उनीहरुको उद्धार गरिएको हो ।

रुपाकोट मझुवागढी नगरपालिका–३ खाल्लेका राजेन्द्र खड्का, कर्णबहादुर खड्का र सोही नगरपालिका–१० पाथेकाका धनकेशर गिरी, उदयपुरका प्रकाश राई र दाङका विशाल चौधरीको उद्धार गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)का परामर्शकर्ता अम्बिका दाहालले जानकारी दिए ।

योङ म्यान पावर कम्पनीबाट मासिक एक हजार १०० रियाल तलबमा सिकर्मीको रुपमा छ महिना अघि कतार पुगेका धनकेशरले हेल्परको काम दिनुका साथै चार महिनासम्म तलब नदिएको भन्दै उद्धार गरिदिन सामी परियोजनाको दिक्तेलस्थित कार्यालयमा सम्पर्क गरेका थिए । ठगीमा परेका गिरी स्वयंले टेलिफोन सम्पर्क गरी आफन्तमार्फत सामीमा कागजात उपलब्ध गराएका थिए ।

यस्तै, इन्टरनेशनल जब लिङ्क म्यानपावर कम्पनीबाट जनही रु ७० हजारका दरले रकम बुझाएर नौ महिना अघि कतार पुगेका खाल्लेका खड्कालाई पछिल्लो चार महिना लगातार तलब नदिएको बताइएको छ ।

गत असारदेखि तलब नपाएपछि घरमा सम्पर्क गरी सूचना तथा परामर्श केन्द्रमा कागजात पु¥याइ उद्धारका लागि पहल गरिदिन आग्रह गरिएको थियो । वैदेशिक रोजगारीमा जानु पूर्व घरमै छाडिएको कागजपत्रको प्रतिलिपि परिवारमार्फत उपलब्ध भएलगत्तै वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरेको करिब एक सातामै उनीहरुलाई नेपाल फर्काइएको परामर्शकर्ता दाहालले बताए ।

ठगिएका पाँचै जनालाई सूचना तथा परामर्श केन्द्रको समन्वय तथा निःशुल्क कानूनी सहायता प्रदान गर्ने संस्था पिपुल्स फोरमको सहयोगमा मुद्दा दर्ता गरिएको थियो । ठगीमा परेर नेपाल फर्किएकामध्ये खाल्लेका कर्णबहादुर र राजेन्द्रले कतार जाँदा बुझाएको जनही रु ७० हजार एजेण्टले फिर्ता गरिदिने सर्त राखेको बताइएको छ । ठगीमा पर्ने अन्य तीन जनाको हकमा थप अनुसन्धान गर्ने काम भइरहेको सामीले जनाएको छ । उद्धार गरिएका उनीहरुले काठमाडौँ आएलगत्तै क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाइएको छ । रासस