१३ भदौ, काठमाडौं । ‘बाहुबली’को क्रेजसँगै अभिनेता प्रभासको लोकप्रियता पनि बढेको थियो । उनको चर्चाले नयाँ चलचित्रको प्रोमोशन र ब्यापारमा राम्रै सफलता पाउने आँकलन गरिएको छ । भारतमा मात्र नभएर चलचित्रले नेपालमा पनि राम्रो कारोबार गर्ने अनुमान हुन थालिसकेको छ ।

नेपालमा राम्रै कमाउने अनुमान गरेता पनि चलचित्र नेपालमा भने निकै महंगो मूल्यमा ल्याइएको छ । चलचित्रका नेपाल वितरक मनोज राठीले ‘साहो’ ल्याउन करिब १ करोड २० लाख भारू अर्थात १ करोड ९२ लाख नेपाली रुपैयाँ खर्च भएको बताएका छन् । यसअघि चलचित्र ‘बाहुबली २’ ३ करोड रुपैयाँको लागतमा नेपाल भित्र्याइएको थियो ।

महँगोमा नेपाल ल्याइएको ‘साहो’लाई नेपाली हलहरू, त्यसमा पनि विशेष गरी मल्टिप्लेक्सहरूले उच्च संख्यामा शो दिएका छन् । मल्टिप्लेक्समा सिनेमाको बुकिङ विशेषगरी काठमाडौं उपत्यकामा उच्च रहेको छ ।

क्यूएफएक्सले मात्र चलचित्रलाई ६१ शो दिएको छ । सिनेमा भारतमा पनि एक साथ चार भाषामा करिब १० हजार पर्दामा रिलिज हुँदैछ। सिनेमा करिब ३५० करोड भारूको बजेटमा तयार भएको हो । चलचित्र आज बिहानैदेखि प्रदर्शन भइरहेको छ ।