काठमाडौं, ३१ बैशाख । तपाइँले मोटरसाइकलको चाबी लगाउन भुल्नु भएको त छैन ? चाबी लगाए पनि ह्याण्डिल बन्द गर्न पो बिर्सनु भयो कि ? या असुरक्षित ठाउँमा पार्किङ गर्नु भएको त छैन ? त्यसो भए मोटरसाइकल चोरी हुने सम्भावना बढी नै हुन्छ ।

चोरहरुले पार्टपूर्जा परिवर्तन गरेर मोटरसाइकल चलाउने गरेकाले तपाईँकाे मोटरसाइकल भेटिने सम्भावना कम छ । काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गरेर पार्टपूर्जा परिवर्तन गर्ने चोरहरु सक्रिय छन् । मोटरसाइकल ग्यारेज सञ्चालक समेत यसमा संलग्न भएको खुल्न आएको छ । यस्तै घटना काठमाडौँको गोकर्णेश्वरको अत्तरखेलमा भएको छ ।

स्थानीय राजन कार्कीको पार्किङ गरिएको मोटरसाइकल वैशाख २८ गते चोरी भएको भनी महानगरीय प्रहरी वृत्त बौद्धमा आएको निवेदन दर्ता भयो । त्यसको अनुसन्धान गर्ने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीको मोटरसाइकल मर्मत केन्द्रमा विभिन्न मोटरसाइकलका पाटपूर्जा फेला परेका छन् । मोटरसाइल मर्मत केन्द्र (ग्यारेज)मा चोरीको मोटरसाइकल लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले उक्त स्थानमा खोजी गर्दा उनको मोटरसाइकलका पार्टपूर्जा मोटरसाइकलबाट अलग्याइएको अवस्थामा फेला परेको थियो ।

ग्यारेजमा फेला परेका अन्य ब्राण्डका मोटरसाइकलका पार्टपूर्जासमेत चोरीको भएको आशङ्का गरियो । ती पार्टपूर्जा बरामद गरी सम्बन्धित तीन जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् । पक्राउ पर्नेमा काठमाडौँको शङ्खरापुर नगरपालिका–५ पालुबारीका ग्यारेज सञ्चालक तिलकबहादुर तामाङसहित निराजन ओझा र मोहम्मद सज्जाद खान रहेको बोगटीले बताए ।

उक्त ग्यारेजबाट पार्टपूर्जा अलग गरिएको मोटरसाइकलको ट्याङ्की छ थान, साइलेन्सर पाइप, रिङ, टायर, लेगगार्ड र इञ्जिन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुले पाटपूर्जा निकालेर फरकफरक मोटरसाइकलमा जोड्ने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । रासस