४ भदौ, काठमाडौं । स्याफ्रुबेँसी धुञ्चे सडकखण्डमा आज बिहान ८ बजे भएको सवारी दुर्घटनाका कारण रसुवागढी क्षेत्रको राजमार्ग बन्द भएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चीनको केरुङबाट ल्याएको रेडिमेट मालवस्तु लिई काठमाडौँतर्फ जाने क्रममा गोसाइँकुण्ड गाउँपालिका–५ अन्तर्गत १२ घुम्ती पुछारमा ना २ ख ३८१६ नम्बरको कन्ट्रेनर डिब्बा दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको र बन्द राजमार्ग खुलाउने प्रयास जारी रहेको छ ।

दुर्घटनाबाट घाइतेले सवारी चालकको स्याफ्रुबेँसीको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पनि प्रजिअ भण्डारीले जानकारी दिनुभयो । उक्त डिब्बा राजमार्गमा तेर्सो परेको र भन्सारको शिलबन्दी डिब्बा भएकाले मालसासान पल्टिका लागि भन्सार कर्मचारी बोलाउने र क्रेन खोज्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

डिब्बाभित्र तयारी पोशाक रहेको भन्सार कार्यालयले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन रोकिएका छन् । यात्रामा हिँडेका आन्तरिक तथा बाह्य पर्यटकसमेत बिच बाटोमा अलपत्र परेको स्थानीय दावा तामाङले बताए । छिटोभन्दा छिटो राजमार्ग खुलाउन स्थानीय प्रशासनले प्रयास गरी रहेको बताइएको छ ।