२७ साउन, काठमाडौं । देशका विभिन्न जिल्लामा आइतबार करेन्ट लागेर तीनजनाको ज्यान गएको छ । सप्तरी, बारा र माेरङमा करेन्ट लागेर तीनजनाकाे ज्यान गएकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

सप्तरीको खड्क नगरपालिका–७ कल्याणपुर बस्ने रुपनी गाउँपालिका–६ बीरेन्द्रबजार घर भएका ६० वर्षीय राम दुलारी आले मगरको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । पानी तान्ने मोटर चलाउने क्रममा केरेन्ट लागेर गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ मदरसा टोल बस्ने ३८ वर्षीय नुर महमद देवानको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारको लागि बीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यसैगरी मोरङको ग्रामथान गाउँपालिका–७ नेताचोक बस्ने ३५ वर्षीय उमालाल पाचकोटीको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।